तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकको समृद्धि र विकासका लागि काँग्रेसले जित्नुपर्छ’

वालिङ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समृद्धि र विकास लागि काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस स्याङ्जाले आज सदरमुकाममा आयोजना गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गर्दै उहाँले मुलुकको विकास र समृद्धिका अभियान सञ्चालन गर्न आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । काँग्रेसको नेतृत्वमा हासिल भएका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरसम्म पुर्‍याउन अभियान सञ्चालन गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

file photo

अभियानका लागि स्याङ्जामा खटिनुभएका काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले पार्टीभित्रका आन्तरिक मतान्तरलाई बिर्सेर अब पार्टीलाई थप सशक्त बनाएर अगाडि बढ्नका लागि अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

काँग्रेसले गरेका राम्रा कार्यहरू नागरिकमाझ पुर्‍याउन र नकारात्मक टिका टिप्पणी तथा भ्रमलाई चिर्दै नयाँ शिराबाट चुनावी अभियानमा जुट्न नेता पौडेलले नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । अभियानको शुभारम्भका अवसरमा जिल्लाका ११ स्थानीय तह र ९७ वटै वडामा काँग्रेसलाई विजयी बनाउने गरी लाग्नुपर्नेमा जोड दिइएको छ ।

आज शुभारम्भ भएको अभियान चैत २९ गतेसम्म चल्नेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै काँग्रेसले एक महिने चुनावी अभियान थालेको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button