बागमती प्रदेश खेलकुद: फुटबलमा ललितपुरको विजयी सुरुवात
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ ललितपुरले विजयी सुरुवात गरेको छ ।
हेटौँडामा आज भएको खेलमा चितवनलाई शून्यका विरुद्ध एक गोल गर्दै ललितपुरले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६८ औँ मिनेटमा ललितपुरका वसन्त तामाङले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगिता अन्तरगत सोमबार दुई वटा खेल हुनेछन् । सोमबार पहिलो खेल रामेछाप र सिन्धुपाल्चोक तथा दोस्रो खेल मकवानपुर र नुवाकोटबिच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताउनुभयो ।
त्यस्तै आजै हेटौँडामा भएको ब्याडमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटर फाइनलमा प्रवेश गरेका छन् । आज ३० वटा खेल खेलाइएको थियो । सबै खेलहरूमा सोझो सेटले विजयी भएको अफिसियल राम विनय श्रेष्ठले बताउनुभयो ।
ब्याडमिन्टन प्रतियोगितामा चितवनले काठमाडौँलाई, काभ्रेले मकवानपुरलाई, ललितपुरले सिन्धुपाल्चोकलाई, रामेछापले दोलखालाई र धादिङले भक्तपुरलाई पराजित गरेको श्रेष्ठले बताउनुभयो । खेल एकल तथा डबल खेलाडीबिच खेलाइएको थियो ।

महिला तर्फ भने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सोमबार बिहानबाट क्वाटर फाइनलका खेल खेलाइने जनाइएको छ ।
प्रतियोगिता अन्तरगत मकवानपुरमा आइतबारबाट फुटबल र ब्याडमिन्टन खेल सुरु भएको छ भने चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ ।
चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताउनुभयो ।
सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौँमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने छ ।
काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो ।
प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान गरिएको छ । विभिन्न खेलमा करिब २ हजार बढी खेलाडीले सहभागिता जनाउनेछन् ।
खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्