मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छौंः मन्त्री भुसाल
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा आज आयोजित कार्यक्रममा उहाँले महँगीले दैनिक भान्छा चलाउन कठिनाइ भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उहाँको भनाइ थियो ।

सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताउनुभयो ।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराउनुभयो । सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गर्नुभयो ।
उपप्रमुख मुना अधिकारीले अब आफूहरूले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा १४ वडाध्यक्ष लगायत कार्यपालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो ।
सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग रु २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्