पदमा रहुन्जेल नेपाली जनताकै काम गरेर बस्छु : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफु पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताउनुभएको छ ।
उहाँले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गर्नुभयो ।
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज काठमाडौँमा आयोजित छैटौँ राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भन्नुभयो “म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरू केही छैन ।”
मन्त्री आलेले दलित, जनजाति समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताउनुभयो । “दलित समुदायले बनाएका औजारहरू प्रयोग गर्न मिल्ने तर उनीहरूसँग पानी नचल्ने जस्तो विभेदको अन्त गर्नुपर्छ” उहाँले भन्नुभयो ।
समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरूका पक्षमा आफूले विगतदेखि नै वकालत गर्दै आएको उहाँको भनाई थियो ।
दलित समुदायको वृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरूको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उहाँले बताउनुभयो ।
गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो ।
उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका विरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्