तपाईँ सुन्दै हुनुहुन्छः

अध्ययनसँगै विद्यार्थीलाई सिप सिकाइँदै

तनहुँ । तनहुँको एक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साप्ताहिक रुपमा विभिन्न विषयमा सिप सिकाउन थालिएको छ ।

यहाँको शुक्लागण्डकी नगरपालिका १२ स्थित जनप्रेमी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले अहिले सिलाई कटाई, प्लम्विङ, वायरिङ र कृषि उत्पादन सम्बन्धी सिप सिकिरहेका छन् ।

अध्ययनका अलावा विद्यार्थीलाई विद्यालयमा नै सिप सिकाउँदा थप प्रभावकारी हुने भएपछि विद्यालयले वडाको समन्वयमा प्राविधिक सिप कक्षा सञ्चालन गरेको प्रधानाध्यापक डिल्लीराम लामिछानेले जानकारी दिनुभयो ।

लामिछानेका अनुसार कक्षा प्रभावकारी हुँदै जान थालेको छ । वडा कार्यालयले प्राविधिक सिप कक्षा सञ्चालनका लागि दुई लाख ५० हजार बजेट विनियोजन गरेपछि प्रशिक्षक ल्याएर कक्षा सञ्चालन हुँदै आएको छ । ‘हामीले सामान्य घरको बिजुली बिग्रिँदा समाधान गर्न सकुन्, करेसा बारी व्यवस्थापन गर्न समक्ष हुन् भन्ने उद्देश्यले कक्षा सुरु गरेका हौँ’ उहाँले भन्नुभयो ‘सुरुवात निकै प्रभावकारी बनेको पाएका छौँ, विद्यार्थीहरूको सहभागिता उत्साहजनक छ ।’

अहिले सीपमूलक कक्षामा छात्राहरू सिलाई कटाई र छात्रहरू वायरिङ/प्लम्विङतर्फ आकर्षित भएका छन् । सिप विकास कक्षामा प्राथमिक तहका विद्यार्थीहरूलाई कृषि उत्पादन तर्फ जोड दिएको छ भने कक्षा ६ भन्दा माथिका विद्यार्थीहरूलाई सिप विकास गर्न सिलाई कटाई, वायरिङ र प्लम्विङ सिकाइने गरेको छ ।

ग्रामीण क्षेत्रमा रहेको यो विद्यालयमा अहिले ५ सय जना विद्यार्थी अध्ययनरत छन् । यहाँका वडा –१२ को फिरफिरे, रातमाटा, जसपुर, बराहडाँडा, भोर्ले, बाबिया डाँडा र वडा –१०का रजस्थलका विद्यार्थीहरू अध्ययन गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button