सर्लाहीका सुरक्षा अधिकारीहरू १ हजार ४५६ जनालाई लता कपडा लगायतका सामग्री वितरण

सर्लाही । सर्लाहीमा सर्लाहीका सुरक्षा अधिकारीहरूले जिल्लाका विभिन्न ठाउँमा हाल सम्म १४ सय ५६ जनालाई विभिन्न किसिमको सामग्री वितरण गरेका छन् ।
गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले विपन्न, दलित, पिछडिएको क्षेत्र, अपाङ्ग तथा विपन्न बालबालिकाहरूको लागि विभिन्न किसिमको लुगासहित अन्य सामग्री पठाएपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सर्लाहीको २० वटै पालिकामा क्रमबद्ध रुपमा मुसहर, दलित बस्ती, विपन्न, तथा विपन्न बालबालिकाहरू अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
सुरक्षा अधिकारीहरूको उपस्थितिमा हाल सम्ममा चक्रघाट्टा गाउँपालिकामा २ सय ३० जनालाई लुगालगायत विभिन्न सामग्री, धनकौल गाउँपालिकामा टी–सर्ट ९५, जुता ३० जना गरी १ सय ५ जनालाई, रामनगर गाउँपालिकामा १ सय जनालाई जुता, ३० जनालाई चप्पल, ३५ जनालाई हाफ प्यान्ट गरी १ सय ६५ जनालाई वितरण गरिएको छ ।
त्यस्तै, बागमती नगरपालिका वडा नं. ४ स्थित चेपाङ बस्तीमा २ सय १२ जनालाई विभिन्न किसिमको लुगा वितरण गरिएको छ ।
त्यस्तै, मलंगवा नगरपालिका वडा नं. ३ स्थित दलित बस्तीमा पातलो ज्याकेट ७० थान, मोटो ज्याकेट १५ थान, टी–सर्ट ८० थान तथा जुता ६५ थान गरी २ सय ३० जनालाई वितरण गरिएको छ ।
यसैगरी, लालबन्दी नगरपालिका वडा नं. २ स्थित रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा श्रममा टी–सर्ट १७ थान, हाफ पेन्ट १७ थान, चप्पल ३० जोर, कपडा १ रोल गरी ६४, वडा नं. ४ मुसहर बस्तीमा टी–सर्ट २ सय जनालाई,फुल प्यान्ट २ सय जनालाई, सर्ट ३० जना गरी ४ सय ३० जनालाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।
लता कपडालगायत विभिन्न सामग्री वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँ, सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, उप. अ.नि. का चन्दन कुमार झा, लगायत सम्बन्धित पालिकाको व्यक्तिहरूको उपस्थितिमा वितरण हुने गरेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले बताउनुभयो ।
यसअघि पनि जिल्लाका सुरक्षा अधिकारीहरूकै उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिले सर्लाहीका विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयहरूमा ७ सय जना बालबालिकाहरूलाई न्यानो स्विटर वितरण गरिसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्