तीनै तहको निर्वाचनमा गठबन्धन दल एकताबद्ध भएर जानुको विकल्प छैन : प्रधानमन्त्री

बीरगंज । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी तीनै तहको निर्वाचनमा गठबन्धनका ५ दल एकबद्ध भएर जानुको विकल्प नभएकोमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्साद्वारा आज वीरगंजमा आयोजित नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धन विरुद्ध कुनै काम नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले आफु पाँच दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री भएको बताउनुहुँदै जनताको अधिकारलाई ग्यारेन्टी गर्ने अभियानमा गठबन्धन जुटेको र गठबन्धनलाई एकसाथ लैजानुको विकल्प नभएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनसँगै प्रदेश र सङ्घीय निर्वाचनमा पनि गठबन्धन जारी रहने दाबी गर्दै जिल्ला, गाउँ, प्रदेशमा केही समस्या देखिए त्यसलाई गठबन्धनले आपसी सहमतिमा मिलाएर जानुपर्ने कुरामा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले सबै पार्टीको सहयोगले एमसीसी पास भएको छ भन्नुहुँदै मुलुकको आर्थिक विकासमा एमसीसीले ठुलो टेवा पुग्ने दाबी गर्नुभयो ।
अनुदानमा आएको पैसालाई अनावश्यक विवादमा तान्न नहुने बताउँदै उहाँले सरकारले भारत र चीनसँगको मित्रतालाई थप सुदृढ र मजबुत बनाउँदै लगेको दाबी समेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले २००७ सालको क्रान्ति भएको ठाउँ वीरगंजमा काँग्रेस एकताबद्ध भई अगाडी बढेमा कुनै शक्तिले हराउन नसक्ने दाबी समेत गर्नुभयो ।
नेपाली काँग्रेस पर्साको जिल्ला अधिवेशनका प्रमुख निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रमेश रिजाल, अजय कुमार चौरसीया, पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व सांसद अनिल रुंगटा लगायतका नेताहरूले सम्बोधन गर्दै राजनीतिक जटिलता र खिचातानीको बिच देशलाई राजनीतिक रुपमा स्थायित्व दिन वर्तमान सरकार सफल भएको र प्रधानमन्त्री देउवाको कुशल राजनैतिक क्षमताबाट एससीसी पास भएको कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस पर्सा जिल्ला कार्यसमितिका नव निर्वाचित सभापति जनार्दन सिंह क्षेत्रीलगायत कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
सो कार्यक्रममा पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियारको नेतृत्वमा एक हजारभन्दा बढी विभिन्न पार्टीका व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
नगर प्रमुख रौनियारलाई प्रधानमन्त्री देउवाले पार्टीको सदस्यता दिएर नेपाली काँग्रेसमा स्वागत गर्नुभएको थियो ।
त्यसैगरी नेकपा एमालेका नेता एवं वीरगंज महानगरपालिका वडा नम्बर ३ का पूर्व वडाध्यक्ष अनवर हुसेनको नेतृत्वमा एमालेका दर्जनौँ कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई समेत प्रधानमन्त्री देउवाले फुल माला टिका लगाई स्वागत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्