मुसहर बालबालिकालाई ४ वर्षदेखि निःशुल्क ट्युसन कक्षा
सर्लाही । सर्लाहीका एक समाजसेवीले विगत ४ वर्षदेखि मुसहर बालबालिकालाई निःशुल्क ट्युसन कक्षा दिँदै आउनुभएको छ ।

चन्द्रनगर गाउँपालिका वडा नं। २ बबर गन्ज निवासी समाजसेवी शिवनाथ राउत कहारले वडा नं। २ वीरता बजारको मुसहरी टोलमा दलित तथा विपन्न बालबालिकाहरूलाई निःशुल्क अध्यापन गराउँदै आएको मुसहरी टोलका स्थानीय असरि देवी माझीले बताउनुभयो । शारीरिक रुपमा अपाङ्ग भए पनि शिक्षक राउतले डेढ किलोमिटरको बाटो तय गरी दलित बालबालिकालाई पढाउन आउने गरेको माझीले बताउनुभयो । निःशुल्क ट्युसन अघि बच्चाहरू छरिएका थिए भने निःशुल्क ट्युसन सञ्चालनमा आएपछि बच्चाहरू पढ्न सुरु गरेको माझीले बताउनुभयो ।
राउतले सञ्चालन गरेको निःशुल्क ट्युसन सेन्टर पाँचौँ वर्षमा प्रवेश गरेको छ । अहिले निःशुल्क ट्युसन कक्षामा ५० जना दलित बालबालिका छन् । ट्युसन सेन्टर पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिकान्त लाल कर्णले अनुगमन गर्नुभयो । त्यस अवसरमा कर्णले समाजसेवी राउतले दलित बालबालिकालाई निःशुल्क पढाएर सराहनीय कार्य गरेको बताउनुभयो ।
उहाँले चन्द्रनगर गाउँपालिकाले तत्कालको लागि बालबालिकाहरूलाई मध्य नजर गर्दै ट्युसन सेन्टरलाई डिटोल साबुन, मास्क, स्यानिटाइजर दिने प्रतिबद्धता समेत गर्नुभयो ।
यसैगरी समाजसेवी राउतले आफ्नो सानैदेखि समाज सेवाको इच्छा अनुसार ट्युसन सेन्टर खोलेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्