विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मीको भूमिकामा जोड
काठमाडौँ । विपद् जोखिमको न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले सञ्चार क्षेत्रले विपद्का सवाललाई व्यापक र गहन ढङ्गले उठाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र डिपिनेटको सहजीकरणमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च’ अन्तर्गतको सूचना प्रविधि तथा सञ्चार समूहले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले विपद्को संवेदनशीलतालाई मिडियाले बुझ्नुपर्ने धारणा व्यक्त गरियो ।
कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत हिस्सा विपद्का कारण नोक्सान हुने गरेकाले यसलाई न्यूनीकरण गर्न अबका दिनमा मिडियाले सूचना प्रवाह, विचार निर्माण, नीतिको विश्लेषणलगायतका क्षेत्रमा मिडियाले काम गर्नुपर्ने सहभागीको भनाइ थियो ।
डिपिनेटका कार्यवाहक अध्यक्ष राजु थापाले विपद् जोखिमसम्बन्धी पाँच वर्षीय योजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजान सके अझै प्रभावकारी हुने बताउँदै नेपाली सञ्चार क्षेत्रले विपद्को बारेमा गरेका कार्यलाई अन्तर्राष्ट्रिय मञ्चमासमेत लैजानुपर्ने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले मिडियासँग सहकार्य गरेर अघि बढ्न चाहेको र यसका लागि कार्यमञ्च अन्तर्गतको सञ्चार समूह उपयोगी थलो हुने धारणा राख्नुभयो ।
विपद् जोखिम न्यूनीकरणका लागि मिडिया पहल विषयमा आफ्नो प्रस्तुति राख्दै सूचना प्रविधि तथा सञ्चार समूहका सहसंयोजक ओमप्रकाश घिमिरेले आर्थिक, सामाजिक, नीतिगत तथा प्राविधिक दृष्टिले विपद् न्यूनीकरणका लागि मिडियाको भूमिका अझ व्यापक भएको तथ्य प्रस्तुत गर्नुभयो । समूहका संयोजक कमला पन्थीले विपद् र समावेशितादेखि विकास र विपद्सम्मलाई गहन ढङ्गले विश्लेषण गर्नुपर्ने बेला आएको बताउनुभयो ।
सो अवसरमा एक अध्ययनअनुसार पछिल्लो ४५ वर्ष (सन् १९७१ देखि २०१५) को अवधिमा नेपालमा ४० हजार बढी मानिसले विपद्का कारण ज्यान गएको, ७५ हजारभन्दा बढी मानिस घाइते भएको, करिब ३० लाख मानिस प्रभावित भएको तथ्य प्रस्तुत गरियो । नेपालको कूल क्षेत्रफलको ६० प्रतिशत भू–भाग सधैँ विपद्को जोखिममा रहेको र कूल जनसङ्ख्याको ८० प्रतिशत मानिस सधैँ विपद्को जोखिममा रहेकाले उनीहरूको जीवन बचाउन पनि सञ्चार क्षेत्रको संलग्नता आवश्यक रहेको बताइएको छ । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका २० भन्दा बढी सञ्चारकर्मीको सहभागिता थियो । रासस








प्रतिक्रिया राख्नुहोस्