खडेरीका कारण इथियोपियामा ८ लाख ४५ हजार मानिस विस्थापित
इथियोपियामा खडेरीका कारण ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरू विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताउनुभएको छ । उहाँले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरूलाई सहयोग पुर्याउन नसकिएको पनि राष्ट्रसङ्घले जनाएको छ ।
साथै संयुक्त राष्ट्रसङ्घले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिरहेको भन्दै यहाँका ४० लाख भन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्