सडकले कुलो भत्काउँदा दुई सय रोपनी खेतीयोग्य जमिन बाँझै

बैतडी । सडकका कारण सिचाई कुलो भत्केपछि बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ स्थित अड्तोला र कद्द्वार गाउँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको छ ।
स्याडी खोलाबाट ल्याइएको सिँचाई कुलो पाटन– पञ्चेश्वर सडकले भत्काएपछि सिँचाइको समस्या भएको हो । विगत ८ वर्षदेखि खेतबारीमा सिँचाइको समस्या हुँदा त्यहाँका किसानहरू मर्कामा परेका छन् । अडतोला र कद्द्वार गाउँका ५० बढी परिवारले कोदालोले खनेर बनाएको सिँचाई कुलो २०७० सालमा भत्काइएको स्थानीय धर्मानन्द पाण्डेयले बताउनुभयो ।
सिचाई कुलो भत्केपछि दुई सय बढी रोपनी खेतीयोग्य जमिन बाँझो खेतमा परिणत भएको स्थानीय खेमराज पाण्डेयले बताउनुभयो । सिँचाई कुलो भत्केपछि गहुँ, मकै र तरकारी बाली खेतमै सुक्ने गरेको उहाँले बताउनुभयो । सिँचाई कुलो निर्माण गरिदिन सडकको ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयहरूलाई पटक–पटक घचघच्याएको भए पनि कसैले नसुनेको स्थानीयवासी बताउँछन् ।

सिँचाई आयोजना निर्माणका लागि प्रदेश सरकार र सङ्घ सरकारलाई सिफारिस गरेको पाटन नगरपालिका ५ का वडा अध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो । जिल्ला स्थित सिँचाई डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय सँग पहल गरीपनि समस्या समाधान नभएको उहाँले बताउनुभयो । जिल्ला स्थित कार्यालयहरू एक अर्को कार्यालयलाई भन्नुस् भन्दै पन्छिने गरेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्