घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन २६ गते शुरु हुने
बीरगंज । आगामी फागुन २६ र २७ गते वीरगन्जमा हुने नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रिय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ केन्द्रिय समितिले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष श्याम प्रसाद गिरीले बताउनुभयो ।

महाधिवेशनको प्रधानमन्त्री शेर बहादुर देउवाले फागुन २६ गते दिउँसो १ बजे वीरगन्जको आदर्शनगरस्थित नगर सभा गृहमा उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
पत्रकार सम्मेलनमा २ लाख ७० हजार भन्दा बढीको हाराहारीमा रहेका घरेलु तथा साना उद्योगले झन्डै २७ लाख जनशक्तिलाई रोजगारी दिएको बताउँदै अध्यक्ष गिरीले ठूलो जनशक्तिको आधार स्तम्भ भएर पनि घरेलु तथा साना उद्योग सधैँ उपेक्षित रहेको दुखेसो पोख्नुभयो ।
घरेलु तथा साना उद्योग महासङ्घमा अहिले देशका ३ सय २८ वटा पालिकामा पालिका सङ्घ, ७७ वटा जिल्लामा जिल्ला सङ्घ र ७ वटा प्रदेशमा प्रदेश सङ्घ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सङ्घमा ४० हजार लघु, घरेलु तथा साना उद्योगी सदस्य रहेको र १२ हजार महिला उद्यमीहरू महिला उद्यमी सञ्जालमा जोडिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा महासङ्घकै इतिहासमा पहिलो पटक महाधिवेशन काठमाडौँ बाहिर वीरगन्जमा हुन लागेको र यस महाधिवेशनले लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने नीति, नियम र कानुनको बारेमा छलफल गरी ठोस निष्कर्षमा पुग्ने योजना रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
महाअधिवेशनले तिन वटै तहका सरकारले घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यहरू र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्