बिर्तामोड नगरपालिकाद्वारा महिला श्रमिकहरूलाई सम्मान
झापा । झापाको बिर्तामोड नगरपालिकाले १ संस्थागतसहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ ।
११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधाका महिला श्रमिकहरूलाई आज सम्मान गरेको हो ।
सम्मानित हुनेमा वडा नम्बर १ की वेदकुमारी कुमाल, वडा नम्बर २ को पूर्वेली महिला नौमती बाजा समूह, वडा नम्बर ३ की प्रतिभा राजवंशी, वडा नम्बर ४ की थिरादेवी भट्टराई अधिकारी, वडा नम्बर ५ की मङ्गलमाया केरुङ, वडा नम्बर ६ की फूलमती करुवा, वडा नम्बर ७ की गीता चौधरी, वडा नम्बर ८ की लीला राजवंशी, वडा नम्बर ९ की सुरजमुनि टुडु र वडा नम्बर १० की बुधिमाया किस्कु रहनु भएको छ ।
सम्मानित हुनेहरूलाई नगर उपप्रमुख पवित्रा महतारा प्रसाईँ र वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाले अबिर, माला लगाएर मायाको चिनोसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा नगरको न्यायिक समिति शाखा अधिकृत टिका लामिछानेले बेइजिङ घोषणापत्र प्रस्तुत गर्नु भएको थियो । घोषणापत्रमाथि न्यायिक समितिकी कानूनी सल्लाहकार कमला आचार्य र वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले टिप्पणी गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्