तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामी उपचारमा
म्याग्दी । प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक ३०० भन्दा बढी बिरामीले डुबेर उपचार गराइरहेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो । कोरोनाको महामारीका कारण यसअघि बन्द गरिएको कुण्ड सङ्क्रमण घट्दै गएपछि यही फागुन महिनाको पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको थियो ।
कोरोना सङ्क्रमणको जोखिम कम हुँदै र जाडो पनि घट्दै गएपछि बिरामी तातोपानीमा आइरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कुण्डमा दैनिक २०० महिला र १००पुरुष ले नियमित स्नान गरिरहेका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी कुण्डमा नुहाउनका लागि बिरामीलाई अनुमति दिइएको अध्यक्ष अध्यक्ष शाक्यको भनाइ थियो ।
तातोपानी कुण्डमा नुहाउने बिरामीको सङ्ख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ । हरेक दिन बिहान ६ देखि बेलुका ४ः३० बजेसम्म दुई–दुई घण्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ ।
मुख्य कुण्डभन्दा बाहिरका दुई वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको जनाइएको छ । अहिले पुरुषको तुलनामा महिला धेरै भएपछि उनीहरूलाई पनि दुई चरणमा नुहाउने गरी समय तालिका बनाइएको अध्यक्ष शाक्यले बताउनुभयो ।अहिले तातोपानी कुण्डमा विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मी जिल्लाबाट आएका बिरामीले दैनिक जसो स्नान गरिरहेका छन् । कुण्डमा आउने अधिकांश बिरामी एक हप्तासम्म तातोपानीमै बसेर नुहाउने गर्दछन् ।
कुण्डभित्र मुख्य पोखरीमा नुहाउनका लागि प्रतिव्यक्ति रु ३५० टिकटको व्यवस्था गरिएको छ भने कुण्ड बाहिरको पोखरीमा नुहाउन प्रतिव्यक्ति रु १०० को टिकट लिनुपर्छ । एक पटक टिकट लिएपछि कुण्डभित्र सात दिन र बाहिरको पोखरीमा दुई घण्टा स्नान गर्न पाइन्छ ।
जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा वीरेनूनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबै खाले रोग निको हुने जनविश्वास रहिआएको छ । कुण्डका मुख्य पोखरीसहित बाहिरका दुई वटा पोखरी, तीन वटा बाथटप र धारामा नुहाउन पाइन्छ । रासस






प्रतिक्रिया राख्नुहोस्