तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा भीमदत्तद्वारा ४० जना किशोरीलाई साइकल वितरण 

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४० जना किशोरीलाई साइकल वितरण गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा नगरपालिकाले विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा नगर क्षेत्रभित्रका ८ वटा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, दलित तथा जेहनदार ४० जना किशोरीहरूलाई साइकल वितरण गरेको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भएको छ ।

नगरपालिकाले विद्यालयहरूसँग छात्राहरूले २० वर्षअघि विवाह तथा विद्यालय छोड्न नपाउने सम्झौता समेत गरेको बताइएको छ । नगरपालिकाले युएनडीपी, निड्स नेपाल, ग्रिन वे, एनसेल, एनएमबी बैङ्क, आईएमई पे, काठमाडौँ साइकल सिटी र साइकल सिटी नेटवर्क नेपाल लगायतका सङ्घसंस्थाहरूको साझेदारीमा साइकल वितरण गरेका हो । 

साइकलको प्रयोग मानव स्वास्थ्य, वातावरण र आर्थिक तीन वटै कुराले फाइदाजनक रहेकोले किशोरीहरूको विद्यालय अध्ययनलाई निरन्तरतासँगै वातावरण स्वच्छता, आर्थिक बचत र स्वस्थ जीवनशैलीका लागि साइक्लिङको प्रचार लगायतका क्षेत्रमा टेवा पुर्याउने उद्देश्यका साथ साइकल वितरण गरिएको सहयोगी संस्थाहरूले जनाएका छन् । भीमदत्त नगरपालिकाले निःशुल्क साइकल उपलब्ध गराएपछि विद्यालय आवागमनमा निक्कै सहज हुने लाभग्राही किशोरीहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button