कांग्रेस अछामको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

अछाम । नेपाली कांग्रेस अछामको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।
सभापति पदका लागि पुष्प बहादुर शाह र भरत कुमार स्वारबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणमा दुवै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणको मतदान सुरु भएको हो ।
दोस्रो चरणको मतदानमा पहिलो चरणको मतदान हुँदाको समीकरण बदलिएको छ । एक दिन सहमतिको प्रयास गरे पनि सहमति नबनेपछि दोस्रो चरणको मतदानमा जानुपरेको हो ।
पहिलो चरणमा स्वारको प्रस्तावक बस्नुभएका कांग्रेस केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले दोस्रो चरणमा भने पुष्पबहादुर शाहको पक्षमा उभिनुभएको छ।
यस्तै देउवा पक्षीय नेता सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री मेघराज खड्का पनि शाहकै पक्षमा उभिनुभएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले फोन गरेपछि शाहले समूह परिवर्तन गरेका उहाँ निकट नेताको भनाइ छ ।
प्रदेश सह महामन्त्री अम्बिका चलाउने , नेपाल शिक्षक संघका प्रभावशाली नेता पदमराम अधिकारी, ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा सहितका नेताहरूको सुरुवात देखिको सहयोग र समर्थनले बलियो रहेका शाह नेपाली कांग्रेस क्षेत्र नं.१ का नेता पूर्व जिल्ला सचिव प्रदेशसभाको निर्वाचनमा अछाम–१ ख का उम्मेदवार अर्का प्रभावशाली नेता संस्थापन इतर समूह (शेखर समूह)का हस्ती टेकबहादुर साउदसहितको सहयोगले थप बलियो हुनुभएको छ ।
यता सभापतिका उम्मेदवार राजन कुँवरको टिमले भरतकुमार स्वारलाई समर्थन गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा कुँवर टिमले स्वारलाई समर्थन गर्ने निर्णय गरेको हो। दोस्रो चरणको मतदानमा कुँवर टिमले स्वारलाई समर्थन गर्ने निर्णय भएको महाधिवेशन प्रतिनिधि कृष्ण कुँवरले जानकारी दिनुभयो ।
सभापति पदका लागि आज बिहानबाट मतदान भइरहेको निर्वाचन अधिकारी मातृकाप्रसाद भण्डारीले बताउनुभयो ।
पहिलो चरणको मतदानमा सभापति पदका उम्मेदवार पुष्पबहादुर शाहले ६९५, स्वारले ५७३ र कुँवरले १५६ मत प्राप्त गर्नुभएको थियो। स्वार वर्तमान सभापति हुनुहुन्छ भने शाह पूर्व सभापति हुनुहुन्थ्यो । क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा ढिलाइ भएपछि जिल्ला अधिवेशन निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन।








प्रतिक्रिया राख्नुहोस्