चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बर्खास्त गर्न माग
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले बढी शुल्क असुल्ने विराटनगरको नोबेल मेडिकल कलेजसँग मिलेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै चिकित्सा शिक्षा अयोगका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसद नबिना लामाले तोकिएको भन्दा बढी शुल्क उठाउने नोबेल मेडिकल कलेजलाई कारबाही नगरेको भन्दै अयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीलाई बर्खास्त गर्न माग गर्नुभयो ।
सांसद लामाले मेडिकल कलेमा भर्ना भएका विद्यार्थीलाई तत्काल उनीहरूले रोजेको कलेजमा पढ्ने व्यवस्था मिलाई नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न पनि माग गर्नुभयो ।
त्यसैगरी, सांसद योगेश भट्टराईले विद्यार्थीलाई मानसिक रुपमा तत्काल पढ्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका सचिवसमेत रहनुभएका भट्टराईले चिकित्सा शिक्षा आयोगबाट तत्काल गएर कलेजको अनुगमन गरिनुपर्ने बताउनुभयो ।
त्यस्तै, सांसद जीवनराम श्रेष्ठले मेडिकल कलेजले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दा पनि राज्यले बेवास्ता गरेको आरोप लगाउनुभयो ।
बैठकमा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क लिने नोबेल मेडिकल कलेजलाई कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
समितिको बैठकले भर्ना भएका विद्यार्थीलाई एक हप्ताभित्र पढाई सुरु गर्न नोबेल मेडिकल कलेजलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्