तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा युवक माथि गोली प्रहार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा एक जना युवक माथि गए राति गोली प्रहार गरिएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका धनुषाको कमला नगरपालिका वडा नंं ८ घर भएका वर्ष १८ को मुकेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ  । जनकपुरधाम उपमहानगरपालिका वडा नंं १९ बेंगाशिबपुर स्थित मामा भोगी मुखियाको घरमा सञ्चालन भएको किराना पसलमा ४–५ जना बसेर कुरा गरिरहेको बेला एक्कासि एक जनाले पिस्तोल निकालेर मुकेशमाथि गोली प्रहार गरी भागेको थिए ।

गोली प्रहार गर्नेको खोजी गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किए पछि गएराति नै प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरेकोमा जनकपुरधाममा उपचार सम्भव नभएकाले थप उपचारका लागि राति नै काठमाडौँ पठाइएको धनुषाका प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । 

घाइते मुखियाको अवस्था गम्भीर रहेको चिकित्सकको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उता  घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको पहिचान भइसकेको प्रहरीले जनाउँदै उनीहरूको खोजी गर्ने काम भइरहेको बताउनुभयो ।

घटना के कति कारणले भएको हो त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button