कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन सोमबार हुने
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन सोमबार हुने भएको छ ।
सर्लाही काँग्रेसमा दुई पक्ष बीचको लामो विवादले क्षेत्र नं ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं ८ गडहीया र वडा नं ९ अचलगढमा काँग्रेसको वडा अधिवेशन नै प्रभावित बनेको थियो ।
लामो समयको विवादपछि दुई पक्षको सहमतिमा फागुन १९ गते वडा नं ८ गहडीयामा संस्थापन इतर पक्षका छितनु साह वडा सभापति र वडा नं ९ अचलगढमा वडा सभापतिमा प्रमोद चौधरी सर्व सहमति चयन भएपछि मात्र सर्लाही काँग्रेसको जिल्ला अधिवेशन फागुन २३ गते सोमबार र पालिका अधिवेशन २९ र ३० गतेका लागि तोकिएको हो ।
काँग्रेसले सोमबार हुने निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिसकेको छ भने, उम्मेदवारहरूले दरखास्त दिने काम भइरहेको छ ।
त्यस्तै, उम्मेदवारको नामावली उपर दाबी विरोध, उम्मेदवारको दरखास्त फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गर्ने कार्य तालिका रहेको नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान भने सोमबार मात्र हुने जनाइएको छ । सर्लाहीको पालिका अधिवेशन भने फागुन २९ र ३० गते हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालय, सर्लाहीले जनाएको छ ।
कांग्रेस सर्लाहीको जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले आज सभापति पदको लागि उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्