गण्डकीका मुख्यमन्त्री पोखरेल मधेस प्रदेशको भ्रमणमा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शनिबार मधेस प्रदेशको भ्रमणमा निस्किनु भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले फागुन २१ गतेदेखि २३ गतेसम्म गर्न लागेको भ्रमणको कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबहादुर रावत प्रदेशमा भ्रमण गर्न आउँदा मुख्यमन्त्रीलाई मधेस भ्रमणको निम्तो दिनुभएको थियो । भ्रमणको निम्तोलाई स्वीकार गरेर मुख्यमन्त्री सहितको टोली मधेस प्रदेशको भ्रमणमा गएको हो ।
मुख्यमन्त्रीसँग अर्थमन्त्री रामजी बराल, पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, सरकारी अधिकारीहरू पर्यटन व्यवसायी पनि सहभागी हुनुभएको छ ।
असोज ६ गते मुख्यमन्त्री लालबाबु रावत पोखराको ३ दिने भ्रमणमा आउनुभएको थियो । त्यसै बेला मुख्यमन्त्री रावतले गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई मधेस प्रदेश भ्रमणको निम्तो दिनुभएको थियो ।
दुई प्रदेशबिचको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मुख्यमन्त्री नेतृत्वको टोली तीन दिने भ्रमणका लागि गरेको हो ।
मुख्यमन्त्री पोखरेलले भ्रमणका क्रममा दुवै प्रदेश बीचको सहकार्य र पर्यटन प्रवर्द्धनका विषयमा छलफल समेत गर्नुहुने मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्