तपाईँ सुन्दै हुनुहुन्छः

युवा लक्षित नीति बनाएर अगाडि बढ्नुपर्छ : मन्त्री गहतराज

भक्तपुर । युवा तथा खेलकुद मन्त्री महेश्वरजंङ्ग गहतराजले सरकार युवा लक्षित नीति बनाएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय युवा परिषद् सानोठिमीको सातौँ स्थापना दिवसको अवसरमा परिषदमा आयोजित नेपाली युवाको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले समाज र देश परिवर्तन र रूपान्तरणका लागि युवाहरूको विश्वास र भरोसा आवश्यक रहेको बताउनुभयो । समाजका हरेक क्षेत्रका असल कार्य र सत्कर्ममा युवालाई लगाउनु पर्नेमा जोड दिँदै मन्त्री गहतराजले युवालाई सत्कर्ममा डोर्‍याउनु पर्नेमा जोड दिनु भयो ।

युवाहरूलाई निराश हुने अवस्था आउन दिन नहुने चर्चा गर्दै उहाँले युवा मैत्री वातावरण बनाएर जानु आवश्यक रहेको औँल्याउनु भयो । युवा परिषद्ले युवालाई सपना देखाउने र मूर्त रूप दिने नीति योजना ल्याउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “युवा कोषबाट तालिम दिने काम मन्त्रालय पिच्छे नै छ, यो छरिएर रहेको कार्यक्रम र बजेट एकत्रित गर्दै परिषदबाट गर्ने गरी योजना बनाइरहेका छौँ ।”

कार्यक्रमका सभापति एवं परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, परिषद्का पूर्व अध्यक्ष एवं एमालेका नेता माधव ढुङ्गेल, काँग्रेसका नेता नयनसिंह महर, नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा, नेकपा समाजवादीका नेता दिलु पन्त, जसपाका नेता बिक्की यादव, लोसपाका नेता मनिष मिश्र लगायतले युवाको व्यवस्थापन चुनौतीपूर्ण रहेको भए पनि युवा समृद्धिका संवाहक रहेको  बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button