माल्दिभ्समा नेपाली श्रमिक पठाउनेबारे श्रममन्त्री श्रेष्ठसँग राजदूतको छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा। हसन नियाजले शिष्टाचार भेट गर्नुभएको छ ।
ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल-माल्दिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोबारे छलफल भयो । भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताउनुभयो ।
पछिल्लो समय माल्दिभ्समा रोजगारीका लागि जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । माल्दिभ्समा ५ हजार भन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् । मन्त्री श्रेष्ठले मेडिकल क्षेत्र बाहेक पर्यटन, निर्माण लगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुनसक्ने रोजगारीको अवसरबारे चासो राख्नुभएको थियो । नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्सको सरकारी अस्पतालहरूमा रोजगारी उपलब्ध गराउन नेपाल(माल्दिभ्स श्रम समझदारी पत्रको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ । अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा २ सय भन्दा धेरै नेपाली डाक्टर तथा नर्सहरू रहेका छन् ।
उनीहरूले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैङ्कहरूले मुद्रा विनिमयको सुविधा नदिँदा अनौपचारिक बजारमा महँगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैङ्कहरूमार्फत डलर विनिमयको सुविधा दिन आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरूलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोग सम्बन्धी सम्झौता नवीकरण गर्न नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो ।
कोरोना भाइरस महामारीमा माल्दिभ्स सरकारले २ लाख डोज खोप उपलब्ध गराएकोमा पनि उहाँले माल्दिभ्स सरकारलाई धन्यवाद दिनुभयो । सन् १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल-माल्दिभ्सबीच घनिष्ठ सम्बन्ध रहेको छ । मन्त्री श्रेष्ठले दुवै देश सार्कका सक्रिय सदस्य राष्ट्र रहेको बताउनुहुँदै नवनियुक्त राजदूत नियाजको कार्यकालमा द्विपक्षीय सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजदूत नियाजले माल्दिभ्समा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्