तपाईँ सुन्दै हुनुहुन्छः

स्व. अधिकारी सफल राजनीतिज्ञ : पूर्व प्रधानमन्त्री खनाल

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले स्व भरतमोहन अधिकारीले गरेको योगदानलाई नेपाली जनताले सधैँ स्मरण गरिरहने बताउनुभएको छ । 

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्वारा आज आयोजित स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले स्व अधिकारीले सफल अर्थमन्त्रीका रूपमा थुप्रै उदाहरण प्रस्तुत गरिसकेको स्मरण गर्दै नेपाली राजनीतिमा सडक र सदनमा पनि उहाँको भूमिकाको प्रशंसा गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले हिमालदेखि तराई तथा मेचीदेखि महाकालीसम्मका नेपाली जनताको गरिबी निवारणमा स्व अधिकारीले महत्त्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो । उहाँले नेपालको मैत्री सम्बन्ध भएको राष्ट्रमा राजदूत नियुक्ति गर्न नसक्नु सरकारको असफलता हो भन्दै युक्रेनको विषयमा सरकारले हतारमा दिएको प्रतिक्रिया असंलग्न परराष्ट्र नीति विपरीत हो भन्नुभयो ।

प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादव, सामाजिक विकास मन्त्री राजन राई, स्व अधिकारीकी धर्मपत्नी सविता अधिकारी, छोरी लिमा अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत, प्रदेश अध्यक्ष बलदेव चौधरी, नेका मोरङ उपाध्यक्ष नागेश कोइराला, नेकपा माओवादी केन्द्रका भोगेन्द्र यादव तथा फाउण्डेशनका सल्लाहकार कृष्ण पोखरेलले स्व अधिकारीले ज्येष्ठ नागरिकलाई वितरण गर्न सुरु गर्नुभएको सामाजिक सुरक्षा भत्ताले अहिलेसम्म निरन्तरता पाउनुले लक्षित वर्गको सम्मान भएको उल्लेख गर्नुभयो ।

सोही अवसरमा पूर्व प्रधानमन्त्री खनालले शिक्षा, स्वास्थ्य, सङ्गीत, खेलकुद, समाजसेवामा महत्त्वपूर्ण योगदान दिने चन्द्र थापा, भक्तराज पोखरेल, माधवराज वाना, शान्ति टण्डन, शम्भू साह, मीना जोशी र बेनीगोपाल मुन्दडालाई सम्मान गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button