तपाईँ सुन्दै हुनुहुन्छः

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेबाट परीक्षण उडान हुने

रुपन्देही । लामो समयदेखि निर्माण सम्पन्न हुने प्रतीक्षामा रहेको देशको राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भई जेठ २ गतेबाट परीक्षण उडान सञ्चालन हुने भएको छ ।

file photo

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न गरेको विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । नेपालमा जहाज अवतरण भएको ७४ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुने भएको हो ।

एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको छ । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल काठमाडौँ विमानस्थलकै क्षमताको हुनेछ । जहाँ सबै प्रकारका जहाज उडान अवतरण गर्न सक्नेछन् ।

काठमाडौँ विमानस्थलमा जुन ‘क्याटोगोरी’ का जहाज उड्छन् सोही प्रकृतिका जहाज गौतम बुद्धमा उड्ने बताउँदै महानिर्देशक अधिकारीले बुद्धको जन्मभूमिमा कनेक्सन र कनेक्टिभिटीलाई ध्यान दिएर विमानस्थल निर्माण गरिएको उल्लेख गर्नुभयो ।

गौतम बुद्ध विमानस्थलमा बौद्ध मार्गीको बाहुल्यता भएका चीन, श्रीलङ्का, म्यानमार, कम्बोडिया लगायत मुलुकबाट सिधा हवाई उडान हुने विश्वास लिइएको छ ।

गौतम बुद्ध विमानस्थलमा हालकै हवाई रुटमार्फत उडान गरिनेछ । हाल सिमराबाट ‘हवाई इन्ट्री रुट’ रहेको छ । थप रुटका लागि नेपालले भारतसँग पहल गरिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button