तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियान सुरु

पर्वत । पर्वतको कुश्मा नगरपालिकामा ‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियान सुरु भएको छ । 

नगरपालिकाले विशेष गरी ज्येष्ठ नागरिकमा रहेको नसर्ने रोगको पहिचान र निदानका लागि अभियान सुरु गरेको हो । 

‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियान अन्तर्गत १४ वटै वडामा पुगेर रक्त परीक्षण गर्ने कार्यक्रम सुरुवात भएको छ । 

स्वास्थ्य शाखाले कुश्मा नगरपालिका ९ कटुवाचौपारीबाट अभियानको सुरुवात गरी अभियान थालनी गरेको स्वास्थ्य सह संयोजक यामप्रसाद शर्माले जानकारी दिनुभयो । 

कटुवाचौपारीमा आयोजित शिविरमा तीन सय जनाको रक्त परिक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोग जस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । 

यहाँका ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ भने अन्यमा सामान्य अवस्था रहेको पाइएको स्वास्थ्य सहसंयोजक शर्माले जानकारी दिनुभयो । 

ज्येष्ठ नागरिकहरूमा नसर्ने रोग लाग्ने र समयमै परिक्षण गरी थप उपचार गर्न सहज होस भनेर कुश्मा नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले जानकारी दिनुभयो । 

रोगले थलिएपछि बल्ल उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोगको पहिचान र निदान हुने भएकाले कुश्मा नगरपालिकाले अभियान सुरु गरेको गुरुङले बताउनुभयो । 

नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभएको छ । कुश्मा बजारदेखि दुरदराजसम्म पुगेर स्वास्थ्यकर्मीहरुले शिविर सञ्चालन गरी बिरामीहरूको पहिचान र उपचार गर्ने उहाँले बताउनुभयो । नागरिकको स्वास्थ्य अवस्थाको नगरपालिका चिन्तित भएर स्वास्थ्य शाखा मार्फत यो अभियान सुरुवात गरिएको नगरप्रमुख जोशीले बताउनुभयो ।

नगर उपप्रमुख सीता काफ्ले लामिछानेले विशेष गरी ज्येष्ठ नागरिक लाई नसर्ने रोग लाग्ने भएकाले स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिकको जीवन रक्षाका लागि ध्यान दिएर सेवा दिन अनुरोध गरिएको बताउनुभयो । नगरपालिकाले शिविरमा नआउनेलाई घरमै पुगेर पनि सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको उहाँले बताउनुभएको छ ।

कुश्मा नगरपालिकाले सबै स्वास्थ्य संस्थामा आवश्यक दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न प्रदेश सरकार समक्ष माग गरेको पनि लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button