तपाईँ सुन्दै हुनुहुन्छः

झापाका अधिकांश पालिकाले बनाए नयाँ भवन

झापा। जिल्लाका १५ पालिकामध्ये अधिकांशले नयाँ प्रशासनिक भवन बनाएका छन् भने कतिपयले बजेट अभावमा बनाउन नसक्दा पुरानै भवनबाट जनतालाई सेवा प्रवाह गरिरहेका छन् ।

शिवसताक्षी, कनकाई, गौरादह, भद्रपुर र अर्जुनधारा नगरपालिकाले फराकिलो स्थानमा नयाँ प्रविधिमैत्री भवन बनाएर कार्यालय सारेका छन् । यी पालिकाभित्र रहेका अधिकांश वडा कार्यालयले समेत नयाँ भवन बनाएका छन् । मेचीनगर नगरपालिकाले पुरानै भवनमा काम गरिरहेको छ भने दमक र विर्तामोड नगरपालिकाले पुरानो भवनलाई व्यवस्थित बनाई आवश्यक सुविधा सम्पन्न भवन थपेर सेवा प्रदान गरिरहेका छन् ।

यसै गरी सात गाउँपालिकामध्ये झापा गाउँपालिकाले रु एक करोड ५६ लाख ८४ हजार ७७९को लागतमा प्रशासनिक भवन निर्माण गरेको छ । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सबै सेवा प्रवाह गर्दै आएकामा वडा नं ३ मा आफ्नै भवन निर्माण गरेर अब सेवा प्रवाह गर्ने भएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँच जना दाताले जमिन प्रदान गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यसअघि झापा गाउँपालिकामा चारवटा वडा कार्यालयको भवन निर्माण गरी सेवा प्रवाह भइरहेको बताउनुभयो ।

स्थानीय देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी, चित्रवहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेको जग्गामा बनेको भवनको पालिका अध्यक्ष जयनारायण साहले उद्घाटन गर्नुभएको छ । कचनकवल गाउँपालिकाले समेत वडा नं ७ मा स्थानीय दाताले दिएको १५ कठ्ठा जमिनमा नयाँ प्रशासनिक भवन धमाधम निर्माण गरिरहेको छ । डेढ वर्ष अघिसम्म भाडामा रहेको कार्यालय हाल बनियानी स्वास्थ्य चौकी नयाँ भवन बनाएर सरेपछि सोही स्थानबाट पालिकाले सेवा प्रवाह गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिनुभयो ।

बाह्रदशी गाउँपालिकाले वडा नं ४ मा रहेको डेढ बिघा जमिनमा प्रशासनिक भवन निर्माणका लागि डिपिआर तयार गरे पनि बजेट अभावमा बनाउन नसकेको जनाएको छ । कार्यालयले पुरानो गाविसको भवनमा नयाँ भवन थपेर हाल सेवा दिइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले बताउनुभयो ।

हल्दिबारी गाउँपालिकाले वडा नं ५ मा स्थानीय दाताले प्रदान गरेको एक बिघा १८ कठ्ठा जमिनमा रु पाँच करोड बढीको लागतमा भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री सात वटा भवन बनाइसकेको छ । सो भवनबाट आगामी चैतको अन्तिम सातादेखि सेवा प्रदान गर्ने हिसाबले आन्तरिक तयारी भइरहेको पालिकाका सूचना अधिकृत राजन न्यौपानेले बताउनुभयो । बुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाले यसअघि नै भवन निर्माण गरी सेवा प्रदान गरिरहेका छन् भने कमल गाउँपालिकाले पुरानै कार्यालयको छेउमा नयाँ भवन बनाइरहेको जनाएको छ । कमल, गौरीगञ्ज, हल्दिबारीलगायत पालिकाले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button