तपाईँ सुन्दै हुनुहुन्छः

मोरङ र झापामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

विराटनगर । हात्तीपाइले रोग निवारणका लागी यही फागुन–२८ गतेदेखि मोरङ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।

प्रत्येक स्थानीय तहका वडा वडामा सञ्चालन हुने यस वर्षको अभियानमा जिल्लाको कुल जनसङ्ख्या मध्ये १० लाख ७४ हजार ७ सय ९० जनालाई औषधि खुवाउने जनाइएको छ । स्वास्थ्य कार्यालय मोरङले विराटनगर आज पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा ११ चरणको अभियान जिल्लामा १४ दिनसम्म सञ्चालन हुने जानकारी गराइयो ।

मोरङको कुल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये ९० प्रतिशत नागरिकलाई रोग विरुद्धको औषधी खुवाउने लक्ष्य लिएको जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले जानकारी दिनुभयो । गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई औषधि खुवाइएको थियो ।

औषधी नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधी खाइरहनु पर्ने भएको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्ने जनस्वास्थ्य अधिकृत धरणीधर निरौलाले बताउनुभयो ।

नेपाल सरकारले हात्तीपाइले औषधि खुवाउनका लागी अभियान सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका मानिसहरूमा देखिएको अज्ञानताका कारण अभियान प्रभावकारी हुन सकेको छैन ।

मोरङको सुनवर्षी नगरपालिकामा ३०० मानिसलाई नमूना परीक्षण गर्दा २४ जनामा र जहदा गाउँपालिकामा ३ सय जनामा परिक्षण गर्दा पाँच जनामा सो रोग देखिएको डा मेहताले बताउनुभयो ।

यस वर्ष इभरमेटिन, डिइसी र अल्बेन्डाजोल औषधी खुवाउने जनस्वास्थ्य निरीक्षक रामकुमार लामाले बताउनुभयो । ११ चरणको यो वर्षको अभियानमा डिइसी नामक औषधि थप गरिएको हो । यस अघिको चरण दुई वटा मात्र औषधि खुवाइने गरेकोमा यस पटक तिन प्रकारका औषधि खुवाउन लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button