तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख धागड समुदायको संस्कृति प्रवर्द्धन अभियान सुरु

बीरगंज  । लोपोन्मुख जातिको रुपमा सूचीकृत तराईमा बसोबास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगंजमा धागड समुदायको संस्कृति प्रवर्द्धन अभियान सुरु भएको छ । 

हाम्रो संस्कृति, हाम्रो अभियान, धागड समुदायको संस्कृति प्रवर्द्धनमा युवाको अभियान कार्यक्रम अन्तरगत आज वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरमा धागड समुदायको भेषभुषा, संस्कृति र परम्पराको झाँकी, नृत्य प्रस्तुत गरिएको थियो । 

वीरगंज महानगरपालिका, एसियन फर पिस रिसर्च एण्ड डेभलम्पमेन्ट, शान्ति मेलमिलाप केन्द्रद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले उद्घाटन गर्दै लोपोन्मुख जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्व माझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटनलाई आकर्षित गर्दै आय आर्जन समेत गर्न सकिने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा वक्ताहरूले लोपोन्मुख धागड समुदायको  संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक, सामाजिक र राजनैतिक सशक्तीकरणको आवश्यकता रहेको कुरामा जोड दिएका थिए । 

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका रेडियो नेपालका पर्सा सम्वाददाता ध्रुव अधिकारीले लोपोन्मुख जनजातिको रुपमा रहेका धागड समुदायको भेषभुषा, रीतिरिवाज, धर्म संस्कृतिको प्रचार प्रसारमा सञ्चारकर्मीहरूको भूमिका समेत महत्त्वपूर्ण रहेको बताउनुभयो ।

अल्पसङ्ख्यक पिछडिएको जनजातिको रुपमा रहेको धागड समुदायको वीरगंज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा बसोबास रहेको छ । 

शान्ति मेलमिलाप श्रोत केन्द्र पर्साका अध्यक्ष रमाकान्त चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button