तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश १ को आर्थिक विकासका लागि सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक’

विराटनगर । प्रदेश १ को आर्थिक उन्नति र विकासका लागि प्रदेश सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा वक्ताहरूले जोड दिनुभएको छ ।

प्रदेश नं १ सरकार, बाह्रखरी मिडिया, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङद्वारा संयुक्त रुपमा विराटनगरमा आज आयोजित आर्थिक सम्मेलनमा सहभागी वक्ताहरूले प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा लगानी मैत्री वातावरण बनाउनुपर्नेमा वक्ताहरूले जोड दिनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संंघीय संरचनाका कारण विकास निमार्ण विकेन्द्रीकरण भएको बताउनुभयो । 

सङ्घीयता कार्यान्वयनमा आएपछि प्रदेश १ मा विकास निमार्णको कामले गति लिएको उहाँको भनाई थियो । प्रदेश १ का १४ वटै जिल्लामा सडक, पुल तथा पूर्वाधारको कामले गति लिएको भन्नुहुँदै विकास निमार्णको काममा निजी क्षेत्रको उल्लेखनीय सहयोग रहेको उहाँले बताउनुभयो । 

“संघयीता कार्यान्वयन हुनुअघि एउटा पुल बन्दैमा नातिले समेत हजुरबुबाले बनाएको पुल देखाएर चुनाव जित्ने अवस्था थियो तर अहिले त्यो अवस्था छैन” उहाँले भन्नुभयो । प्रदेश सरकारका कारण विकासको खाडल मेटिएको उहाँले दाबी थियो । 

शून्यबाट आफूहरूले काम सुरु गरेको भन्नुहुँदै मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयन भएको केही वर्ष मात्र भएकाले अहिले नै प्रदेश सरकारको कामको मूल्याङ्कन गर्ने बेला आई नसकेको बताउनुभयो । 

सङ्घले प्रदेश सरकारलाई बजेट र अधिकार समेत कम दिएकाले सोचेजस्तो गरी आफूहरूले काम गर्न नसकेको उहाँले भनाई छ । 

अर्थ मन्त्रालयका सचिव मधु मरासैनीले प्रदेश १ मा ऊर्जा उत्पादनको बढी सम्भावना रहेकाले त्यसलाई मध्यनजर गर्दै योजनाहरू बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सबै प्रदेशका पालिकाहरूमा पालिकालाई जोडने सडकहरू कालोपत्रे बनाउने योजनामा सरकार रहेको बताउनुभयो ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी  बैङ्किङ  प्रणालीलाई व्यवस्थित गर्न आफु लागि परेको बताउनुभयो । 

उहाँले मुलुकको अर्थतन्त्रमा केही उतारचढाव हुनु सामान्य भएकाले त्यो चाँडै सुधार हुने बताउनुभयो ।  

राष्ट्र बैङ्कले विभिन्न बैङ्कहरूलाई २ सय ८ अर्ब रकम ऋण प्रभा गरेको बताउनुभयो । नयाँ कर्जा प्रभामा अहिले केही समस्या भएको होला त्यो समस्या चाँडै समाधान हुने भन्नुहुँदै उहाँले  निजी क्षेत्रलाई धैर्य गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले प्रदेश न १ मा आर्थिक विकासको सम्भावना धेरै रहेकाले निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । 

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा ऊर्जा उत्पादनलाई बढवा दिन सके चाँडै मुलुकमा समृद्धि आउनेमा उहाँले जोड दिनुभयो ।  

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस क्षेत्रमा औद्योगिक ग्राम स्थापना भएमा नागरिकको आयआर्जन वृद्धि हुनाले ग्रामको स्थापनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रदेश लगानी बोर्डका कार्यकारी अधिकृत सरोज कोइराला, पूर्व अर्थ सचिव रामेश्वर खनालले  मुलुकको आर्थिक मेरुदण्ड भएकाले निजी क्षेत्रको विकासमा ध्यान पुर्‍याउनु आवश्यक रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि  भारतीय पर्यटकलाई यस क्षेत्रमा आकर्षण गर्ने गरी योजना बनाउनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, बाह्रखरी मिडियाका सम्पादक प्रतीक प्रधान, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल र उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको सहयोग निरन्तर रहनेमा जोड दिनुभयो । 

सोही अवसरमा मुख्यमन्त्री राईले औद्योगिक सर्वेक्षण तथ्याङ्क पुस्तकको विमोचन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button