दुई/तीन दिनभित्रै एमसीसीको टुङ्गो लाग्छ : उपाध्यक्ष थापा

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) ले आउँदो दुई/तीन दिन भित्रै सरकार, संसद् अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अन्तिम टुङ्गो लाग्ने बताउनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित एमालेको निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले मुलुकमा राजनीतिक अस्थिरताले समस्या उत्पन्न भइरहेका बेला संसद् अवरोध अन्त्य, एमसीसी विवाद तथा एमालेबाट निष्कासित १४ जना सांसदलाई कारबाही गर्नुपर्ने जस्ता समस्याको समाधान निस्किने बताउनुभएको हो ।

मुलुकमा नयाँ ध्रुवीकरण हुने सम्भावना बढेर गएको बताउँदै उहाँले समाजवादको अभियान, स्वाधीनताको आन्दोलन र समृद्धिको यात्रालाई अघि बढाउन एमाले निर्वाचन तयारीमा होमिएको बताउनुभयो । अहिले मुलुक अस्थिर अवस्थामा रहेकाले न्यायपालिकालाई अराजकताको स्थितिमा राख्न नहुने उहाँको भनाइ थियो ।
स्थानीय तहलाई लक्षित गरी कर्णाली प्रदेश नेकपा एमालेले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा प्रदेशका दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताहरूको सहभागी रहेको छ ।

प्रशिक्षण कार्यक्रममा सङ्घीय तथा प्रदेश सांसदहरू, कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टीको स्थानीय तह कमिटीका अध्यक्षहरू सहभागी रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिनुभयो ।
उहाँले प्रशिक्षण कार्यक्रमका लागि एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्य गोरख बोगटी, युवा नेता विष्णु रिजाल, नीरज आचार्य सुर्खेत आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्