भोटेकोशी गाउँ ब्लकमा जग्गा धनी प्रमाण पुर्जा वितरण
सुनसरी । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँ ब्लकका २८ घर परिवारलाई आज लालपूर्जा वितरण गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा आज आयोजित एक कार्यक्रममा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँ ब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले गाउँ ब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहीन बनिरहेकाहरू कोही पनि छुट्न नहुनेमा जोड दिनुभयो ।
उहाँले लालपूूर्जा नहुँदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपूर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूर्णता दिने काममा आफु लागिरहेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्