तपाईँ सुन्दै हुनुहुन्छः

दुम्सीमा नगर अस्पताल बनाउँदै व्यास नगरपालिका

तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं १० दुम्सी बजारमा २५ बेड क्षमताको नगर अस्पताल बनाउन सुरु गरिएको छ । उक्त अस्पताल ९० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने व्यास नगरपालिकाले जनाएको छ ।

१ करोड ५६ लाखको लागत इष्टमेट गरिएकोमा क्वालिटि इन्द्रावती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि ले ९० लाखमा टेण्डर पारेको नगरपालिकाले जनाएको छ ।

भवन निर्माण कार्य ८ महिना भित्र सम्पन्न हुने नगरपालिकाले जनाएको छ । सो अस्पताल भवनको शुक्रवार नेपाल सरकारका पूर्व सभामुख रामचन्द्र पौडेलले शिलान्यास गर्नुभएको छ ।

भवन शिलान्यास गर्दै नेता पौडेलले अस्पतालको निर्माणले स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताउनुभयो । सडकको विकाससँगै शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको विकास अहिलेको आवश्यकता भएको चर्चा गर्दै पौडेलले विकासका लागि कोही पनि बाधक बन्न नहुने बताउनुभयो ।

व्यास–१० का वडाध्यक्ष तुलसीराम सापकोटाको सभापतित्वमा भएको अस्पताल भवन शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जि.स.स तनहुँ प्रमुख शान्तिरमण वाग्ले, व्यास न.पा प्रमुख वैकुण्ठ न्यौपाने, पूर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ र उप–प्रमुख मीरा जोशी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button