तपाईँ सुन्दै हुनुहुन्छः

फिदिमको कवर्ड हल निर्माण कार्य डेढ वर्षदेखि अलपत्र

पाँचथर । फिदिमस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहेको कवर्ड हल निर्माण कार्य डेढ वर्षदेखि अलपत्र बनेको छ ।

ठुला सभा सम्मेलन गर्न तथा ‘इनडुवर’ खेलहरू सञ्चालन गर्ने प्रयोजनले निर्माणाधीन कवर्ड हल निर्माण कार्य लामो समयसम्म रोकिएको हो । 

ब्याडमिन्टनको नियमित अभ्यास र खेल हुने गरेको पुरानो कवर्ड हललाई नै विस्तार गर्न निर्माण कार्य थालिएको थियो । बजेट अभाव तथा कोभिड–१९ सङ्क्रमणको महामारीको बहानामा लामो समयदेखि कवर्ड हल निर्माण कार्य गत वर्षको असारदेखि रोकिएको हो ।
कवर्ड हल प्रदेश सरकारको लगानीमा निर्माण थालिएको थियो । २०७६ असार २ गते निर्माण कम्पनीसँग सम्झौता भई निर्माण थालिएको हल ०७७ असोज १ गतेभित्र सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कार्य चलिरहँदा बजेट अभाव भएपछि पर्खाल निर्माण गरी काम रोकिएको हो । 

कवर्ड हल निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्रका अनुसार गत आर्थिक वर्षमा बजेटको अभाव हुनाले हल निर्माण कार्य रोकिएको थियो ।

उहाँका अनुसार म्याद थप गरी निर्माण कार्य अगाडि बढाइएको छ । मुख्य समस्या बजेट अभाव रहेको र कोभिड–१९ को सङ्क्रमणका कारण समेत काम अगाडि बढाउन कठिन परेको उहाँले बताउनुभयो ।

उक्त हल निर्माणको ठेक्का रु. एक करोड २० लाख चार हजार ६६२ को लागतमा आले निर्माण सेवा प्रा.ली. फिदिमले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button