तपाईँ सुन्दै हुनुहुन्छः

ठुलाबगर बासीलाई तुइनको सास्ती कायमै

जाजरकोट । जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता छ ।

नलगाड नगरपालिका १, ठुलाबगर र पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४, छोटेतराविच भेरी नदीको तुइनको विकल्प छैन ।

नदीमा झोलुङ्गे पुल नहुँदा र अन्य स्थानबाट पनि आवतजावत गर्ने बाटो नहुँदा वर्षौँदेखि यहाँका बासिन्दा तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ठुलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पाली लगायत गाउँका १ सय घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न विवश छन् ।

त्यस्तै पश्चिम रुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेला लगायत ठाउँका बासिन्दा पनि उक्त तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् ।

स्थानीय प्रविधिबाट काठले बनेको ढुङ्ग्रोमा बसी फलामको डोरीमा झुन्डिएर एक सय मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीय वीरबहादुर पुनको भनाइ छ । तुइन तरेरै जिन्दगी बित्न थालेको वर्षौँ भइसक्यो तर पुल बनाउने कोही नभएको उहाँको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उहाँको गुनासो छ ।

पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा लाग्छ । त्यो पनि जोखिम पूर्ण भीरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कत्तिको ज्यान समेत गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनु भन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु ठिक भएको स्थानीय झरना घर्ती बताउनुहुन्छ ।

स्कुले बालबालिका, बृद्धबृद्धा लगायतलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्छ । ३०/४० बर्ष अघिसम्म नदी वारपार गर्दा चिन्डा र ढुङ्गा(नाउ) को प्रयोगमा थियो । चिन्डा र ढुङ्गाको माध्यमले वारपार गर्ने क्रममा नदी बगेर ३ जनाले ज्यान समेत गुमाउनुपर्‍यो ।

२५ बर्ष अघि बनेको उक्त तुइनकै भर दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्न, औषधी उपचार गर्न र अन्य कामकाजका सदरमुकाम खलङ्गा आवतजावत गर्नुको विकल्प नरहेको वडाध्यक्ष हिरालाल पुनले बताउनुभयो । पुल बनाइदिन विभिन्न निकायमा पटक पटक आग्रह गरे पनि सम्बन्धित निकायको ध्यान नपुगेको वडाध्यक्ष पुनले गुनासो गर्नुभयो ।

विकासे कार्यकर्ता र राजनीति दलका स्थानीय नेता यसै तुइनको सहायताले नदी वारपार गर्छन् । चुनाव आउँदा नेताले हामी पुल निर्माणका लागि पहल गर्छौ भनेर जाने तर जितेर गएपछि फर्केर नआउने गरेको सेतबीर पुनको भनाइ छ ।

तुइनबाट वारपार गर्ने क्रममा मोबाइल, विद्यार्थीका किताब, खाद्य सामाग्री नदीमा खस्ने गरेको छ । जनजाति र दलितको समुदायको बाहुल्यता रहेको ठुलाबगर लगायत गाउँका बासिन्दाको पुलद्वारा नदी वारपार गर्ने धोको कल्पनामा सीमित भइरहेको पुनको दुखेसो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button