औद्योगिक सुरक्षा बल स्थापना गर्न माग
बीरगंज । वीरगन्जका उद्योगी व्यवसायीहरूले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा पुनः सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल स्थापना गर्न माग गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा काठमाडौँमा रहेको उद्योगी व्यवसायीहरूको टोलीले आज सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग उहाँकै कार्यकक्षमा भेटघाट गरी विस्थापित औद्योगिक सुरक्षा बललाई पुनर्स्थापना गर्न माग गरेको हो ।

भेटघाटको क्रममा वीरगन्ज उद्योग वाणिज्य संघका डा. गुप्ताले औद्योगिक सुरक्षा बल विस्थापित भएपछि करिडोर क्षेत्रमा औद्योगिक शान्ति खलबलिन थालेको हुँदा पुनः स्थापनाको लागि आग्रह गर्नुभयो ।
उहाँले नेपाल–भारत सीमा सुरक्षा बैठकलाई नियमित गर्न सकिएमा समय–समयमा सीमा पारीबाट हुने आपराधिक क्रियाकलापहरू न्यून गर्न तथा सम्भाव्य अपराधका सूचना आदान प्रदानमा धेरै सहयोग मिल्ने भएकोले यस्तो बैठकको निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै अध्यक्ष डा. गुप्ताले कतिपय सरकारी निकायहरूले हालसम्म पनि राजस्व नगदमै लिने गरेको र वीरगन्जमा आर्थिक क्रियाकलाप अत्यधिक हुने गरेकोले नगद रकम लिएर गन्तव्यमा जान लागेका व्यापारीलाई प्रहरी प्रशासनले धरपकड गर्ने, मान मर्दन गर्ने गरेकोले यसलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो ।
उहाँले मालसामान ढुवानी गर्दा स्थानीय प्रहरीहरूले जहाँ त्यहीँ बाटोमै रोकेर बिल, बिजक चेकजाँच गर्ने, स–साना कुरालाई आधार बनाएर सवारी साधनका चालकसँग बिल लिएर च्यात्ने र बिल बिजक नै नभएको भनी भन्सार पठाउने जस्ता विषयहरू उठेको हुँदा यसलाई नियन्त्रण र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुककै शान्ति सुरक्षाप्रति आफू गम्भीर रहेको बताउनुहुँदै तुलनात्मक रूपले वीरगन्जमा आर्थिक गतिविधि बढी हुने भएकोले सोही अनुरूपको सुरक्षा व्यवस्था प्रदान गर्न आफू अग्रसर रहेको बताउनुभयो ।
छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्