क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । नेपाल क्यानडालाई ८ विकेटले हराउँदै आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट खेलमा समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल छनोटको समूह ‘बी’को विजेता बनेको हो ।
नेपाल ३ खेलमा ३ जित जोड्दै ६ अङ्क जोड्न सफल भयो ।

ओमान ३ खेलमा ४ अङ्क जोडेर समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने खेलबाट क्यानडा र फिलिपिन्स बाहिरिएका छन् ।
अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग मङ्गलवार खेल्नेछ । यस्तै ओमानले ‘ए’ को विजेता आयरल्यान्डसँग खेल्नेछ ।
फाइनल प्रवेश गर्ने टोली अस्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप खेलका लागि छनोट हुनेछन् ।
क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल भुर्तेलले अविजित ३४ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले अविजित रहँदै २७ रन बनाए ।
आशिफ शेख १७ तथा कुशल मल्ल शून्य रनमा आउट भए ।
नेपालका कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिँदा अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट र कुशल मल्लले एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रनमा सीमित हुन पुग्यो ।








प्रतिक्रिया राख्नुहोस्