तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा कोरोना संक्रमण दर शून्यमा 

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा कोरोनाको संक्रमण दर शून्यमा झरेको छ । पीसीआर र एन्टिजेन गरेर ३ सय ८९ नमुनाको परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएपछि संक्रमण दर शून्यमा झरेको छ । 

नेपाल भारतको ४ वटा सीमानाका सहित मधेश प्रदेशको विभिन्न जिल्लाहरूमा गरिएको एन्टिजेन तथा पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोनाको संक्रमण फेला नपरेको प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपाल भारतको चार वटा सीमानाकामा रहेको स्वास्थ्य हेल्प डेस्कमा ३ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोनाको सङ्क्रमणको पुष्टि नभएको स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।  

यसै गरी प्रदेशका विभिन्न जिल्लाहरूमा भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको प्रयोगशालामा ७३ वटा नमुनाको परीक्षण गर्दा पनि कुनै व्यक्तिमा कोरोनाको पुष्टि नभएको निर्देशनालयले जनाएको छ । खास गरेर भारतबाट रोजगारीको क्रम वा अन्य कारणले गएर फर्केका नेपाली तथा भारतीयलाई एन्टिजेन परीक्षण गर्नका लागि वीरगञ्जको भन्सार नाका, रौतहटको गौरको सिमाना, महोत्तरीको भिठामोड तथा सिरहाको माडरमा रहेको नाकामा ३ सय ९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ४३, महोत्तरीको जलेश्वर अस्पतालमा ८, रौतहटको गौर अस्पताल तथा बाराको अस्पतालमा रहेको पिसिआर मेसिनबाट ३ वटा नमुनाको गरेर कूल ७३ नमुनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको निर्देशक झाले जानकारी दिनुभयो । 

कोरोनाको सङ्क्रमणमा व्यापक मात्रामा कमी आएपछि विभिन्न जिल्लाहरूमा मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रम हुने क्रम बढेको छ । जनकपुरधामको वडा नंं १९ मा अहिले झण्डा महोत्सव पनि शुरु भएको छ । महोत्सवमा निक्कै ठूलो भिड रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button