‘राष्ट्रको पहिचान भाषा र संस्कृतिमा हुन्छ’
काठमाडौँ । उप राष्ट्रपति नन्दबहादुर पुनले कुनै पनि राष्ट्रको पहिचान त्यस देशको भाषा र संस्कृतिमा हुने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र यूनेस्कोको सहकार्यमा आज काठमाडौँमा आयोजित मातृभाषा दिवसका अवसरमा कविता महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मौलिकता र संस्कृतिको जगेर्नामा सरकार लाग्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयमा मातृभाषा अनिवार्य गर्नुपर्ने भन्दै त्यसको लागी स्थानीय तहले पहल गर्नुपर्ने भन्नुहुँदै मातृभाषाको संरक्षणमा प्रज्ञा प्रतिष्ठानको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति पुनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा दलहरूले सहमति गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम बहादुर आलेले विना लोभ लालचका साथ आफूले काम गरिरहेको भन्दै मुलुकको परिवर्तन नचाहने तत्त्वहरू आफूविरुद्ध लागेको बताउनुभयो ।

उहाँले विगतको सरकारले राष्ट्रहित विपरीत गरेका कामहरूको आफूले पुनर्मुल्याङ्कन गर्ने काम सुरु गरिसकेको र केही दिनमा त्यसको परिणाम जनताले देख्न पाउने बताउनुभयो ।
प्रज्ञा प्रतिष्ठानका उप कुलपति डाक्टर जगमान गुरुङले नेपाल जैविक विविधताले मात्र नभई भाषिक र सामाजिक विविधताले पनि भरिपूर्ण देश रहेको बताउनुभयो ।
पछिल्लो जनगणना अनुसार नेपालमा १ सय ३२ मातृभाषा रहेको तथ्याङ्क छ ।
हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउँदै आइएको छ ।








प्रतिक्रिया राख्नुहोस्