सबै नागरिकको पहुँचमा खोप पुग्यो: स्वास्थ्य मन्त्री खतिवडा
वीरगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सरकारले कोभिड नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको कारण सबै नागरिक खोपको पहुँचमा पुगेको बताउनुभएको छ । उहाँले कोभिडकै कारण स्वास्थ्य क्षेत्रले अन्य क्षेत्र भन्दा अझ बढी प्राथमिकता पाएको समेत बताउनुभयो ।
वीरगन्जस्थित नारायणी अस्पताल परिसरभित्र निर्माण भइरहेको इमरजेन्सी भवन तथा कोभिड –१९ डेडिकेटेड भवनको आज एक कार्यक्रमबिच शिलान्यास तथा अस्पतालमा निर्मित क्याथ ल्याबको उद्घाटनपछि आयोजित कार्यक्रममा खतिवडाले विगतमा स्वास्थ्य क्षेत्रमा ५ प्रतिशत मात्र बजेट छुट्टाउने गरेकोमा पछिल्लो समय कुल बजेटको ८ प्रतिशतभन्दा बढी बजेट विनियोजन भएको बताउनुभयो ।

सरकारले स्वास्थ्य क्षेत्रलाई गाउँदेखि वडासम्म पुर्याउने अठोटका साथ अगाडी बढेको बताउँदै सातै प्रदेशमा प्रदेश स्तरीय अस्पताल तथा मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य सरकारले लिएको उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले एमसीसीको सन्दर्भमा संसद्को बहुमतले जे निर्णय दिन्छ त्यो निर्णय सरकारले स्वीकार गर्ने बताउनुभयो । उहाँले आइतबार संसदमा छलफलका लागि एमसीसी पेश भएकोले नेपाली जनताका लागि जे हित हुन्छ त्यही अनुसार बहुमतको निर्णयलाई स्विकारेर अगाडी बढ्ने बताउनुभयो ।
मन्त्री खतिवडाले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरूलाई खोप लगाउन तथा दुवै खोप लगाएको ५–६ महिना बितेकाहरूलाई समेत बुस्टर डोज लगाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले मधेस प्रदेशकै स्वास्थ्यको केन्द्रको रुपमा रहेको नारायणी अस्पताललाई सरकारले केन्द्रिय अस्पतालको रुपमा रूपान्तरण गरे पनि स्तर अनुसारको सेवा सुविधा नदिएको भन्दै दुखेसो व्यक्त गर्नुभयो ।
कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र बहादुर प्रधानले अस्पतालमा चिकित्सक तथा कर्मचारीहरूको अभाव भएकोले सेवाग्राहीलाई सोचे जस्तो सेवा प्रदान गर्न नसकेको बताउनुभयो । उहाँले मन्त्रालयमा पेश गरिएको नारायणी अस्पताल सुधार सम्बन्धी प्रतिवेदन स्वीकृत गरी समस्याको समाधान गर्न मन्त्री खतिवडालाई आग्रह समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्