तपाईँ सुन्दै हुनुहुन्छः

शंखमुल–खर्सुबास सडक अझै मर्मत भएन

सल्यान । बर्षातका कारण अवरुद्ध बनेको शंखमुल–खर्सुबास सडक मर्मत नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । 

वर्षात सकिएको लामो समय बितिसक्दा समेत अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन नसकेको हो । 

वर्षातका कारण अवरुद्ध भएका ग्रामीण सडक मर्मत नगरिँदा पैदलयात्रीले समेत जोखिम मोलेर हिँडडुल गर्नुपर्ने बाध्यता रहेको छत्रेश्वरी गाउँपालिका–४ बस्नेउराका गणेश नेपालले बताउनुभयो । 

गाउँपालिकाले भदौ महिनाभित्र सडक मर्मत गर्ने बताए पनि अर्को वर्षात सुरु हुने समय हुँदै लाग्दा समेत मर्मत हुन नसकेको उहाँको भनाई छ । सडक मर्मत नहुँदा विद्यालय जाने बालबालिकालाई बढी जोखिम भएको नेपालको भनाई छ । 

सडक मर्मत गर्न वडा कार्यालयलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उहाँको आरोप छ । सडक माथिबाट आएको पहिरोले सडक पुरै बगाउँदा पैदल हिँड्न समेत समस्या हुने गरेको उहाँले बताउनुभयो । 

यता वडा न ४ का वडाध्यक्ष नेवबहादुर खड्काले भने केही समयभित्रै सडक मर्मत भइसक्ने बताउनुभयो । गाडी सञ्चालन हुने स्थानसम्म दशै अघि नै मर्मत गरिसकेको उहाँको भनाई छ । 

बस्नेउरामा ठूलो पहिरो रहेको र सानो मेसिनबाट सम्भव नभएकाले ठूलो मेसिन आउने बित्तिकै सडक सञ्चालनमा आउने उहाँको भनाई छ । 

सीमित बजेटभित्र सबै काम गर्नुपर्ने भएकाले एकै पटक सम्भव नभएको उहाँले बताउनुभयो । 

जनताको सेवाकै लागि स्थानीय सरकारले भएकाले जतिसक्दो छिटो उक्त सडक सञ्चालन ल्याउन प्रयास गर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button