बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोना विरुद्धको पहिलो मात्रा खोप

वाग्मती । बागमती प्रदेशमा कोरोना सङ्क्रमण विरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएको छ ।
हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ ।
खोप अभियान तीव्र रूपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बताउनुभयो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षति मात्र नभई अर्थतन्त्रमा समेत क्षति पुर्याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताउनुभयो ।
मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैँ पुगेर कोरोना सङ्क्रमणविरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गर्नुभएको थियो ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएको छ ।
साथै कोरोनाविरुद्धको खोप लगाउने र स्वाब सङ्कलन कार्य जिल्लामा जारी रहेको बताइएको छ ।
जिल्लामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति घट्दै गएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्