तपाईँ सुन्दै हुनुहुन्छः

२३ लाखको लगानीमा सल्यानमा व्यावसायिक कालिज पालन

सल्यान । पछिल्लो समय सल्यानका युवाहरू व्यावसायिक क्षेत्रमा उन्मुख हुँदै गएका छन् । 

व्यावसायिक कृषिबाट राम्रो आम्दानी हुन थालेपछि धेरै युवाहरू कृषिकर्मीतर्फ जुटेका छन् । जिल्लाको कुमाख गाउँपालिका–३ मर्मका २१ वर्षीय लक्ष्मण बुढा मगरले शारदा नगरपालिका –१५ सिमतारामा जग्गा भाडामा लिएर व्यावसायिक कालिज पालन सुरु गर्नुभएको छ ।  एक वर्ष पहिले झन्डै २३ लाख लगानीमा उहाँले कालिज पालन सुरु गर्नुभएको हो । 

कालिजको संरक्षण, उपभोक्तालाई कालिजको मासु उपलब्धता चल्ला उत्पादन गर्ने लक्ष्यका साथ १० रोपनी क्षेत्रफलमा कालिज पालन गरिएको उहाँले बताउनुभयो । पोखराबाट प्रतिगोटा ५ सयका दरले ८ सय कालिजका चल्ला ल्याएर सुरु गर्नुभएका बुढाले अहिले धेरै कालिज बिक्री गरी सक्नुभएको छ । 

व्यवसायलाई बढाउन ह्याचिङ्गको व्यवस्था गर्न थालेको उहाँले बताउनुभयो । आफूले ह्याचिङ्ग राखियो भने प्रतिगोटा दुई सय सम्मले चल्ला बिक्री गर्न सकिने भनाई छ ।   “हामीलाई पोखराबाट ल्याउँदा एक दिनको चल्ला ५ सयका दरले ल्याएका थियौँ तर आफ्नै ह्याचरी भयो भने निकै सस्तो पर्ने अनुमान गरेको छु ।” उहाँले भन्नुभयो ।

 दुई हप्तासम्म कालिजका चल्ला स्याहार्न कुखुराका चल्ला हुर्काए जस्तै सजिलो भए पनि त्यसपछि भने ध्यान दिनु पर्ने उहाँको भनाई छ । उहाँका अनुसार कालिजका चल्लाहरू हुर्किँदै गएपछि एकले अर्कालाई ठुँगेर मार्ने, घाइते बनाउने गर्छन् । कालिजका लागि कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । दाना भने कुखुराकै दिए हुने अनुभव छ । कुखुरालाई जस्तै रानी खेत, गबारो लगायतका खोप दिन र क्याल्सियम, भिटामिन समय समयमा खुवाउनुपर्ने उहाँले बताउनुभयो  । 

कालिजको किनबेच किलोमा नभएर गोटाको हिसाबले हुन्छ । ५ देखि ६ महिनाको एउटा कालिज २ हजारदेखि २ हजार ५ सयमा सजिलै बिक्री हुने गरेको बुढाले बताउनुभयो । 

नेपालमा व्यावसायिक कालिज पालन कम भएको र माग उच्च रहेकै कारण आफूले यो पेसा रोजेको उहाँको भनाई छ । राम्रो हेरचाह गरे कालिजबाट मनग्य आम्दानी हुने उहाँको अनुभव छ । 

कर्णाली इन्टिग्रटेड कृषि फर्म नै दर्ता गरी व्यवसाय सुरु गर्नुभएका बुढामगरले भन्नुभयो, “यो व्यवसायमा राम्रो सम्भावना छ , यो काम गर्न चाहनेलाई सिकाउन र सघाउन तयार छु ।”

बुढाले व्यावसायिक कालिज पालनसँगै विभिन्न जडीबुटीका बिरुवा समेत उत्पादन गर्दै आइरहेका छन् । वार्षिक ६० हजार भाडा तिर्ने गरी एक हेक्टर जमिन लिजमा लिएको उहाँले बताउनुभयो । १० रोपनीमा कालिज फर्म रहेको र बाँकीमा प्लास्टिक टनेल बनाएर जडीबुटीका बिरुवा र तरकारी खेती गर्दै आइरहेको उहाँको भनाई छ ।

२१ वर्षीय बुढाले आइएसी एजी पढ्नुभएको छ । कृषि विषय नै पढेकाले कृषिमा लागेको उहाँको भनाई छ । बिएसी एजी पढ्न काठमाडौँ जानुभएका उहाँ कोरोनाले शिक्षण संस्था पूर्ण रुपमा बन्द भएपछि कृषि पेसामा हात हालेको बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिम त हरेक क्षेत्रमा छ नै त्यही जोखिमलाई मोल्न सक्ने हो भने मात्र अघि बढ्न सकिन्छ ।” 

जङ्गलमा पाइने कालिज नेपालमा संरक्षित पक्षी अन्तर्गत पर्ने भएकाले मार्न प्रतिबन्ध छ । तर अहिले विभिन्न प्रजातिका कालिज व्यावसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाई बन्दै गएको छ । सरकारले ल्याएको नयाँ कानुनसँगै कालिज पालन गर्ने किसानको सङ्ख्यामा वृद्धि आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button