तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व सङ्कलनमा कमी 

चितवन । पछिल्ला महिनाहरूमा मदिराजन्य बस्तुको कारोबारमा कमी आएसँगै आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व सङ्कलनमा कमी आएको छ । 

चालु आर्थिक बर्ष २०७८/०७९ को माघ महिनामा १ अर्ब ७ करोड बढी राजश्व सङ्कलन गरेको छ । 

कार्यालयका अनुसार माघ महिनामा राजश्व विभागले १ अर्ब ५१ करोड ५० लाख ७४ हजार लक्ष्य दिइएकोमा सो महिनामा सबै शीर्षक गरी १ अर्ब ७ करोड १ लाख ५१ हजार सङ्कलन गरेको हो । 

जसअनुसार यो असुली लक्ष्य भन्दा २९ दशमलव २७ प्रतिशतले कमी हो । अघिल्लो महिनामा पनि कार्यालयले लक्ष्य अनुसार कर असुली गर्न सकेको थिएन । 

सबै शीर्षकमध्ये कार्यालयले आयकर र स्वास्थ्य सेवा शीर्षकबाट मात्रै लक्ष्यभन्दा बढी कर असुलेको छ । जसअनुसार विभागले माघ महिनामा कार्यालयलाई ८ करोड २० लाख ७७ हजार लक्ष्य दिइएकोमा १५ करोड ४ लाख ८५ हजार रुपैयाँ सङ्कलन गरेको छ भने स्वास्थ्य सेवा करमा ३ लाख ७१ हजार लक्ष्य दिइएकोमा १९ लाख १० हजार रुपैयाँ  राजश्व सङ्कलन गरेको छ । 

यस्तै सबैभन्दा बढी कर सङ्कलन अन्तःशुल्कबाट भएको छ भने शिक्षा सेवाबाट कुनै पनि रकम सङ्कलन भएको छैन । 

कार्यालयले सो महिनामा अन्तःशुल्कबाट ७७ करोड ११ लाख ७४ हजार रुपैयाँ  सङ्कलन गरेको छ । उक्त महिनामा विभागले कार्यालयलाई १ अर्ब २० करोड ८४ लाख ८६ हजार रुपैयाँ असुली गर्ने लक्ष्य दिएको थियो भने शिक्षा सेवा शीर्षकमा माघ महिनामा ४ लाख ६५ हजार रुपैयाँ असुली लक्ष्य दिएकोमा शून्य रकम सङ्कलन भएको हो । 

दोस्रो सबैभन्दा बढी कर असुली मूल्य अभिवृद्धि करबाट १२ करोड ६६ लाख ८१ हजार रुपैयाँ कर असुली भएको छ । 

यो शीर्षकमा विभागले १६ करोड ३७ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन लक्ष्य दिएको थियो । यसैगरी बहाल कर शीर्षकमा ४४ लाख ७२ हजार रुपैयाँ लक्ष्य दिएकोमा ३४ लाख ८५ हजार रुपैयाँ सङ्कलन र ब्याज कर शीर्षकमा ५५ करोड ४५ लाख ३ हजार रुपैयाँ लक्ष्य दिइएकोमा १५ करोड ४ लाख ८५ हजार रुपैयाँ राजश्व असुली भएको छ । 

कार्यालयका कर अधिकृत सुशील लम्सालले कोरोनाकै कारण आर्थिक गतिविधि हुँदा राजश्व सङ्कलन लक्ष्य अनुसार भेट्टाउन नसकिएको बताउनुभयो । 

“कोरोनाका कारण आर्थिक गतिविधि सुस्त पनि भयो, लम्सालले भन्नुभयो , जाडो याममा बियरको खपत कम भएकोले पनि अन्तःशुल्क शीर्षकमा लक्ष्यभन्दा कम सङ्कलन हुँदा समग्र रुपमा असर परेको हो ।” 

आयकर शीर्षकमा पुस महिनामा तिर्नुपर्ने रकम माघमा पनि आउने भएको लक्ष्यभन्दा बढी सङ्कलन भएको र स्वास्थ्य सेवा कर शीर्षकको बक्यौता रकम असुली भएकोले लक्ष्यभन्दा बढी उठेको उहाँले बताउनुभयो  । 

“हाम्रो सबैभन्दा बढी करको स्रोत अन्तःशुल्क, मुअक र आय कर नै हो, उहाँले भन्नुभयो, अन्य शीर्षकमा घटबढ हुँदा खासै लक्ष्यमा असर पर्दैन ।”

गर्मी याम सुरु भएसँगै बियरलगायत अन्य पेय पदार्थको उत्पादन र बिक्री बढ्ने भएकोले आगामी महिनाबाट कर सङ्कलन अपेक्षित हुने उहाँको भनाई छ ।  

विभागले चालु आवको लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार लक्ष्य दिएकोमा ७ महिनासम्म कुल ११ अर्ब १७ करोड ५ लाख ८७ हजार रुपैयाँ राजश्व असुली गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button