तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एडिबीसँग साझेदारी गर्नुपर्ने

काठमाडौँ ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैङ्क (एडिबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताउनुभयो । शुक्रवार एडिबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भर्चुअल माध्यमबाट भएको छलफलमा उहाँले सो बताउनुभएको हो ।

नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउनुहुँदै मन्त्री शर्माले यस क्षेत्रमा एडिबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उहाँले भन्नुभयो, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार शृङ्खलामा पुर्‍याउन पनि एडिबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ ।’ उहाँले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको औँल्याउनुभयो ।

अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने उहाँले बताउनुभयो ।

छलफलमा उहाँले एडिबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्‍याएको सहयोगप्रति बैङ्कलाई धन्यवाद समेत प्रदान गर्नुभयो । उहाँले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button