तपाईँ सुन्दै हुनुहुन्छः

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने 

सर्लाही । जिल्ला प्रशासन कार्यालयले  इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण  सेवा थालनी गरेको छ ।  

राहदानी विभाग काठमाडौँबाट पहिलो पटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि  सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार तीन  सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।

इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने  र आवेदन पेस भएको १५ दिनभित्र सेवाग्राहीलाई इ–पासपोर्ट वितरण उपलब्ध गराइने उहाँले बताउनुभयो । 

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ–पासपोर्ट प्रयोगमा ल्याएको छ । 

विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ । 

एमआरपीका तुलनामा इ–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै  सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button