तपाईँ सुन्दै हुनुहुन्छः

जितगढीमा ठडाइयो अङ्ग्रेजसँग लडेका १३ योद्धाको सालिक

रुपन्देही । अंग्रेससँग लडेर विजय प्राप्त गरेको रुपन्देहीको बुटवलस्थित जितगढीमा त्यो युद्धमा वीरता प्रदर्शन गर्ने योद्धाहरूको सालिक स्थापना गरिएको छ ।

सन् १८१४ देखि १८१६ सम्म भएको अङ्ग्रेजसँग लडेर जित हासिल गरेको गढी जितगढी किल्लामा तत्कालीन युद्धमा वीरता प्रदर्शन गर्ने सैनिक योद्धाहरूको सालिक स्थापना गरिएको हो ।

ऐतिहासिक महत्त्व रहेको किल्लामा अतिक्रमण बढेको र ओझेलमा पारिएपछि यहाँको ऐतिहासिक महत्त्व सुरक्षित राख्न यस्ता कामले विशेष महत्त्व राख्ने जितगढी संरक्षण समितिका अध्यक्ष रबिन्द्र गोपाल लाकौलले बताउनुभयो ।
किल्ला संरक्षणमा बटौली संरक्षण समिति र नेपाली सेनाले बुटवल उपमहानगरलाई समन्वय गर्दै सघाएको अध्यक्ष रबिन्द्र लाकौलले जानकारी दिनुभयो ।

नेपाल–अंग्रेज युद्ध भएको किल्ला जितगढीमा लडेका योद्धाहरूको सालिक निर्माण स्थापना गरिएको हो । सन् १८१४ देखि १८१६ अवधिमा भएको नेपाल र ईस्ट इन्डिया कम्पनी सरकारका सेनाहरूसँगको भिडन्तमा नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको स्थलमा तत्कालीन कर्णेल उजिरसिंहसँगै लड्ने १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको छ ।
यस्ता कामले ओझेलमा परेको जितगढीले मुहार फेरिँदै गएको र जितगढी किल्ला नेपालीको इतिहास र गौरव रहेकाले थप संरक्षण तथा प्रचार प्रसार गरिनुपर्ने वडा नं २ का वडाध्यक्ष रमेश नेपाल बताउनुहुन्छ ।

अतिक्रमणको चपेटामा परेको किल्ला क्षेत्रमा उपमहानगरले तीन बिगाहा जग्गा संरक्षण गर्दै गुरुयोजना बनाएर संरक्षण, सम्बद्र्धन र बिस्तारका काम सुरु गरेको छ । गुरुयोजना अनुसार नै १३ जना सेनाको सालिक निर्माण गरिएको हो । जसमा काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवलदार रणशूर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतको सालिक निर्माण गरिएको छ ।

सो युद्धमा जनरल सुलेमान र जनरल उडेको नेतृत्वमा युद्ध लड्न आएका अङ्ग्रेज फौजलाई कर्णेल उजिर सिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो । कम्पनी सरकारको सेनाले अवध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारी नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरु गरेको थियो ।

किल्लामा आकर्षक पार्कसहित झिलिमिली लाइटिङ तथा राष्ट्र धुनसहितको पानीका फोहरा निर्माण गरेर सबैको आकर्षणको केन्द्र बनाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button