महावीर पुनलाई गण्डकी रत्नले सम्मान गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा म्यागासेस पुरस्कार विजेता महावीर पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्ने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार आयोजित एक कार्यक्रममा पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्ने घोषणा गरिएको हो । गण्डकी रत्न प्रदेशकै सर्वाधिक ठूलो सम्मान हो ।
गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई सरकारले विशिष्ट व्यक्तिका रुपमा सम्मान गर्ने सम्बन्धी कार्यविधि बनाएको थियो । प्रदेशभित्र शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, विज्ञान, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवा लगायतमा क्षेत्रमा उल्लेख्य योगदान गरी प्रदेशको गरिमा बढाउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यविधिमा उल्लेख छ ।
सरकारको कार्यविधि अनुसार प्रस्ताव आव्हान गर्दा तिन जनाको आवेदन परेको थियो । निवेदन दिन म यस कारण गण्डकी रत्न सम्मानका लागि योग्य छु भनेर निवेदकले आधार सहित पेश गर्ने वा दोस्रो व्यक्तिले यो व्यक्ति योग्य छ भनेर आधार सहमति निवेदन दिन पाउने व्यवस्था छ । प्रदेशबाट विशिष्ट व्यक्ति छनोट गर्न सिफारिस समिति अध्यक्षमा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष रहने व्यवस्था छ । सदस्यमा अर्थ र आन्तरिक मामिला मन्त्री, प्रमुख सचिव र आन्तरिक मामिलाका सचिव सदस्य सचिव रहने गरी समिति बनेको थियो । उक्त समितिले महावीर पुनलाई गण्डकी रत्न सम्मान प्रदान गर्न सिफारिस गरेको थियो ।
सम्मानित व्यक्तिलाई सरकारले प्रदेश सभा सदस्य बराबरको हैसियत दिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जानकारी दिनुभयो । ‘गण्डकी रत्न’बाट सम्मानितलाई राज्यले तक्मा र प्रमाणपत्र दिनेछ भने सम्मानितलाई सार्वजनिक सभा, समारोहमा प्रदेश सभा सदस्य सरहको मान्यता र सुविधा दिने जनाइएको छ ।
त्यस्तै, सम्मानितलाई प्रदेश अस्पतालमा निःशुल्क उपचार, सम्मानित व्यक्ति जीवनको उत्तरार्धमा संरक्षण विहीन भएको खण्डमा निजको संरक्षणको दायित्व सरकारले लिने, सार्वजनिक सेवाको क्षेत्रमा सम्मानितलाई प्राथमिकता दिने, प्रदेश भित्रका विमानस्थलमा अति विशिष्ट कक्ष प्रयोग गर्न दिनेलगायतका सुविधा दिइने व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्