तपाईँ सुन्दै हुनुहुन्छः

नाग्म–गमगडी सडकको ५२ किमी ग्राभेल सकियो, २० किमी कालोपत्रे हुने

जुम्ला । नाग्म–गमगडी राजमार्गको ५२ किलोमिटर सडक ग्राभेल भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले वर्षौँदेखि अलपत्र रहेको जिरो देखि १३ किमी सम्मको ग्राभेलको काम अगाडी बढाएपछि हाल सम्म ५२ किमी सडक ग्राभेल गरेर सम्पन्न भएको हो ।   

जुम्ला कालिकोटको सीमा क्षेत्र नाग्म देखि मुगुको गमगडी सम्म ९३ किलोमिटर दुरी रहेको नाग्म–गमगडी राजमार्गको ५२ किमी सडक ग्राभेल सम्पन्न भएको डिभिजन सड्क कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताउनुभयो । 

उहाँले भन्नुभयो,“जम्मा ९३ किलोमिटर लम्बाई भएको नाग्म गमगडी राजमार्गको ५२ किमी ग्राभेल सकिए पनि अन्य सडक खण्डको पनि स्तरवृद्धि नियमित रुपमा भइरहेको छ । नाग्म–गमगडी सडकलाई सहज सुरक्षित र स्तरीय बनाउन हामी जुटिरहेका छौ ।” 

जुम्ला र कालिकोटको सीमा नाग्म–गमगडी सडकको जिरो देखि १३ किमी हिमा गाउँपालिका सम्म ग्राभेलका लागि सांसद बहादुर सिंह लामाले ठेक्का लिएपनि विगत ५ वर्षदेखि अलपत्र अवस्थामा थियो । 

सडक डिभिजन जुम्लाको ताकेता र म्यान नाघे पनि थप जरिवाना तिराएर काम अगाडि बढेको छ । उक्त १३ किमीको ग्राभेल काम अहिले स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले गरिरहेका छन् । 

भौगोलिक विकटता, निर्माण सामाग्रीको अभाव, ढिलासुस्ती गर्ने निर्माण व्यवसायी र मौसम प्रतिकूलताका कारण पनि नाग्म–गमगडी सडकको ग्राभेल सँगै स्तरवृद्धि कार्य तीव्र गतिमा अघि बढिरहेको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो,“राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भइसकेको छ । अन्य जोखिमयुक्त खण्डलाई प्राथमिकता दिएर स्तरवृद्धिको कामलाई अघि बढाएका छौ । भने, मुगु जिल्लाको गमगडीबाट ताल्चा सम्मको सड्क कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको छ । केही वर्षभित्र नाग्म–गमगडी राजमार्गलाई पुरै कालोपत्रे गर्ने गरी काम अघि बढाएका छौ ।”

सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीलाई पनि ताकेता गरेकोले विगतको जस्तो काम ढिला सुस्ती नहुनेमा प्रमुख श्रेष्ठको विश्वास छ । 

२० किमी सडक कालोपत्रे हुने 
सडक डिभिजन जुम्लाले नाग्म–गमगडी सडकको २० किलोमिटर सडक कालोपत्रे गर्नका लागि प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेको छ । चालु आवको बजेटमा सङ्घीय सरकारले नाग्म गमगडी सडकको स्तरवृद्धिका लागि छुटाइएको बजेट र योजना अनुसार कालोपत्रे गर्ने तयारी भएको हो । 

सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठ भन्छन्,“२० किमी सडक कालोपत्रे गर्ने स्टेटमेन्ट सहित अर्थमा पठाएका छौ । चालु आवमा नाग्म–गमगडी कालोपत्रे गर्ने कामलाई विशेष प्राथमिकता पनि दिएका छौ । अर्थ मन्त्रालयले बजेट सहमति दिने बित्तिकै ठेक्का लगाएर काम अघि बढ्छ ।”

नेपालकै सबैभन्दा ठुलो रारा ताल जाने एक मात्र सडक मार्ग नाग्म–गमगडी सडक भएकोले उक्त सडकको स्तरवृद्धिमा सङ्घीय सरकारले चासो दिनु आवश्यक छ । २० किमी कालोपत्रेका लागि प्रस्ताव पठाएका छौ । अर्थको स्वीकृतिको बाटो कुरिरहेको समेत सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार कनकासुन्दरी गाउँपालिकाको गुरुचौरदेखि मुगु गमगडी तर्फको २० किमी कालोपत्रे गर्ने योजना रहेको छ । 

अर्थ मन्त्रालयलाई बजेट सहितको स्वीकृत माग गरिएकोले फाइल पेश भइसकेको छ । केही दिनमा स्वीकृत आउने अपेक्षा गरिएको उहाँको भनाई छ । ग्राभेल गरेर ठेक्का सकिएको खण्डमा कालोपत्रे गरिने छ ।

पर्यटकीय मार्गका रुपमा हेरिएको नाग्म–गमगडी सडक स्तरवृद्धि नहुँदा रारा आउने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती पाएका छन् । हिउँदमा धुलाम्मे,वर्षामा हिलाम्मे हुने उक्त सडकलाई यात्रु मैत्री बनाउनका लागि स्तरवृद्धिको काम धमाधम अघि बढाएको सडक डिभिजनले जनाएको छ ।

१० वटा पक्की पुल बन्दै नाग्म–गमगडी राजमार्गको विभिन्न खण्डमा १० वटा पक्की पुल निर्माण हुने भएका छन् । वर्षामा खोला बढ्दा सडक अवरुद्ध हुने समस्यालाई मध्य नजर गर्दै नाग्म–गमगडी राजमार्गको विभिन्न भागमा चालु आव भित्र १० वटा साना पक्की पुल निर्माण हुने भएका हुन् । 

पुल नभएका कारण नाग्म–गमगडी सडकको प्रस्थान विन्दुमा रहेको खोलामा वर्षायाममा आउने बाढीले झण्डै दर्जन बढी मोटरसाइकल बगाएर लिइसकेको छ । पटक पटक पुल निर्माण गर्नुपर्ने माग भएपनि सुनुवाइ भएको थिएन । चालु आवमा सडक डिभिजन जुम्लाको पहल पुल महाशाखाले नाग्म–गमगडी सडकको प्रस्थान विन्दुमा रहेको खोला सँगै अन्य ठाउँमा गरी १० वटा पुल निर्माण हुने इन्जिनियर सन्तोष भण्डारीले जानकारी दिनुभयो । 

इन्जिनियर भण्डारीका अनुसार सड्क विभागको पुल महाशाखा अन्तरगत नाग्म, बाजागाडा सहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौता समेत अगाडि बढेका छन् । उहाँले भन्नुभयो,“१० वटै पुल निर्माणको ठेक्का एकै ठेकेदारलाई परेको छ । 

एकै साथ विभिन्न ठाउँमा पुल निर्माण हुदैछन् । कार्य सम्झौता भइसकेकोले निर्माण कार्य पनि अघि बढिसकेको छ । पुल निर्माण पश्चात् वर्षामा खोलामा आउने बाढीले दिने सास्तीबाट यात्रुले मुक्ति पाउने छन् ।”  

प्रतिक्रिया राख्नुहोस्

Back to top button