लालपुर्जा उपलब्ध गराइदिन नगरपालिकालाई आग्रह

तनहुँ । तनहुँ शुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेका अव्यवस्थित बसोबासीले आफुहरु बस्दै आएको जमिनको लालपुर्जा उपलब्ध गराइदिन नगरपालिकालाई आग्रह गरेका छन् ।
तालवेसि माध्यमिक विद्यालयले अधिग्रहण गर्दै आएको जमिन २०४७ सालदेखि विद्यालयसँग खरिद गरेर बसोबास गरेकाहरूले लालपुर्जा प्राप्तिका लागि सहयोग गर्न उनीहरूले स्थानीय सरकारलाई आग्रह गरेका थिए । विद्यालय २०४७, २०५१, २०७० र २०७१ सालमा विद्यालय सञ्चालन गर्न आर्थिक समस्या भएको भन्दै जमिन विक्री गरेको थियो ।
यहाँका कित्ता नम्बर ५६, १२८ र १२९ मा आवासीय संरचना निर्माण गरेर बसोबास गर्दै आएका उनीहरूले आफूहरूलाई प्रक्रिया पुर्याएर व्यवस्थित गर्न नगरपालिकालाई ध्यानाकर्षण गराएका थिए । यस अघि उक्त जमिनको अवैध प्रयोग भएको भन्दै सर्वोच्चमा परेको रिट अनुसार अदालतले उक्त संरचना हटाउन आदेश दिएको थियो ।
संरचना हटाउन आदेश प्राप्त भए पनि नगरपालिकाले अदालतका आदेश पालना गर्न नसकिने जवाफ पठाएको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले जानकारी दिनुभयो । नगरपालिकामा ध्यानाकर्षणका लागि पुगेका अव्यवस्थित बसोबासीलाई सम्बोधन गर्दै गुरुङले यस्ता समस्या ७७ वटै जिल्लामा रहेकाले एकमुष्ट रुपमा मन्त्रिपरिषद् बैठकले मात्र समाधान गर्न सक्ने बताउनुभयो ।
सङ्घर्ष समितिका सचिव केशव पौडेलले पीडितहरूको आवाज लिएर नगरपालिकामा पुगेको बताउँदै समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उहाँका अनुसार घरायसी कागजी गरी विद्यालयको आर्थिकस्तर र पूर्वाधार बनाउन जग्गा बिक्री गरिएको थियो । सो जग्गामा मुद्दा परेपछि जिल्ला अदालतले पनि अनधिकृत रुपमा निर्मित घर टहरा हटाउने फैसला गरेको थियो ।
पुनरावेदन अदालतले समेत जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । सो फैसला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी गराइएको थियो । अख्तियारले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै अनधिकृत रुपमा निर्मित घर टहरा भत्काउन आदेश दिएको थियो ।
यता सङ्घर्ष समितिका अध्यक्ष मीनबहादुर श्रेष्ठले आफूहरूको न्यायका लागि निरन्तर रुपमा स्थानीय सरकारलाई दबाब दिइने बताउनुभयो । उहाँले नगरपालिकामा आवश्यक कदम चाल्न भोलि बिहीबार पनि सङ्घर्ष समितिले नगरपालिकामा ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्