प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा किसानलाई पावरटिलर हस्तान्तरण

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले तरकारी जोनसँग आबद्ध किसानलाई आज पावर टिलर हस्तान्तरण गरेको छ ।
खेत जोत्न साथै सिचाई तथा ढुवानीका लागी समेत सो पावरटिरल प्रयोग गर्न सकिने छ । परियोजनाले सञ्चालन गरेको तरकारी जोन कार्यक्रममा आबद्ध जहदा गाउँपालिकाका किसानलाई सो उपकरण हस्तान्तरण गरेको हो ।
जहदा गाउँपालिका वार्ड न ४ कुशवाहा टोलमा एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत अनुदानमा आठ जना किसानलाई पावर टिलर हस्तान्तरण गरिएको परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले बताउनुभयो ।
पावर टिलर खरिद गरिएको मूल्यमा ५० प्रतिशत किसानले ५० प्रतिशत परियोजनाले व्यहोरेको छ ।
कृषि यान्त्रीकरणमा जोड दिँदै सो परियोजनाले अनुदानमा धान काट्ने हारवेस्टर ट्र्याक्टर लगायत ठुला ठुला कृषि उपकरण तथा ढुवानीका लागि सवारी साधन र सिँचाइका लागी बोडिङ समेत जडान गर्दै आएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेसराज तिम्सिना, जिल्ला समन्वय समितिका प्रमुख नरेशप्रसाद पोखरेल, परियोजना प्रमुख विनोदकुमार मण्डल , जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल तथा उपाध्यक्ष सालोदेवी साहले संयुक्त रुपमा किसानलाई पावर टिलर हस्तान्तरण गर्नुभएको थियो ।
जहदा गाउँपालिकाका हरिहर साह, सियाराम राजवंशी, ताराचन्द्र मण्डल, मनोजकुमार सिंह, हरिनाथ सिंह, राकेश सिंह, पवनकुमार सिंह तथा गणेश राजवसी लगायतका किसानलाई पावर टिलर हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा बोल्नुहुँदै उहाँहरूले पावरटिलरको सही सदुपयोग गरेर उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभयो ।
चालु आर्थिक वर्षदेखि जहदा र कटहरी गाउँपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
पहिले तरकारी ब्लकको रुपमा सञ्चालन हुँदै आएकोमा यो वर्षदेखि परियोजनाले साढे पाँच सय हेक्टर क्षेत्रफलमा तरकारी जोन सञ्चालनमा ल्याएको हो ।
तरकारीको पकेटको रुपमा चिनिने सो पालिकामा तरकारी जोन सञ्चालनमा आएपछि ४० प्रतिशत थप उत्पादन बढ्ने परियोजना प्रमुख मण्डलले बताउनुभयो ।
तरकारी जोनका अध्यक्ष शिवनाथ सिंहले खेत जोत्न प्रयोग हुने पावर टिलर किसानहरूले पाउनु खुसीको कुरा भएको भन्नुहुँदै परियोजनाको सहयोगका कारण किसानको जीवन स्तरमा सुधार आउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्